इलाम, २० माघ ।
माङसेबुङ खेलकुद विकास समितिको आयोजनामा भएको वडा स्तरीय महिला फुटबल प्रतियोगिता खेलमा वडा नं. ६ विजयी भएको छ ।
वडा नं. २ संग भएको फाइनल खेलमा ३–० को नतिजा निकाल्दै वडा नं. ६ ले नतिजा आफ्नो पोल्टामा पारेको हो ।
खेलको पहिलो हाफमा वडा नं. ६ का जर्सि नं. ७ शोभा राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । खेल सुरु देखिनै वडा नं. ६ का खेलाडिहरुको उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो हाफमा १–० को अन्तर नतिजा निकालेको थियो ।

दोस्रो हाफमा समेत खेलमा फर्कन नसकेको वडा नं. २ लाई दोस्रो हाफमा भने पेनाल्टीको सामना गर्नु परेको थियो । वडा नं. ६ ले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जर्सी नं. ८ का कल्पना राईले अग्रतालाई दोब्बर बनाएको थियो ।
दोस्रो खेलको मध्यतिर पुनः वडा नं. ६ का जर्सी नं. ८ ले अर्को गोल गर्दै ३–० को नतिजाले आफ्नो टिमलाई विजयी गराएका थिए ।
माङसेबुङ अन्तर वडा महिला फुटबल खेलमा वेस्ट किपर वडा नं. ६ का मेनुका राई, वेस्ट डिफेन्स वडा नं. ३ का उसा राई, वेस्ट प्लेयर वडा नं. २ का विनिता राई र वेस्ट स्कोर वडा नं. ६ का कल्पना राई घोषित भएका थिए ।

फाइनल खेलको औपचारिक कार्यक्रम खेलकुद विकास समिति माङसेबुङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा माङगेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङ, माङसेबुङ वडा नं. ३ का वडाअध्यक्ष मैतराज राई, वडा नं. ६ का वडा अध्यक्ष प्रदिप राई लगायत समाजसेवी, पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम समितिका सदस्य सरिता राईले सञ्चालन गरेका थिए भने समिति सदस्य दिलु साम्बाले स्वागत मन्तव्य राखेका थिए ।

