दमक, १० चैत्र ।
दमक पत्रकार मञ्चकाे अायाेजनामा तथा दमक नगरपालिकाकाे सहयाेगमा ७ दिने आधारभूत पत्रकारिता तालिम अाइतबारबाट सुरू भएकाे छ ।
तालिमकाे उद्घाटन समाराेहका प्रमुख अतिथि समेत रहेका दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेलीले देशको चौथो अङ्ग मानिएको पत्रकारितामा जोखिमसँगै अवसर र सम्भावना पनि रहेको बताए ।

पत्रकार मञ्च दमकको आयोजना र दमक नगरपालिकाको सहयोगमा चैत्र १० गते देखि १६ गते सम्म चल्ने ७ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रमुख ओलीले भने –‘समाचार बिकाउनलाई नकारात्म अर्थ दिने शीर्षकको आवश्यकता पर्दैन । सकारात्मक शीर्षकले पनि समाचारको प्रभाव पार्न सकिन्छ ।’ आजको प्रतिस्पर्धात्मक समयमा पत्रकारहरुले लेखन शैलीमा निखारता ल्याउनु पर्ने उनको भनाई थियो ।

तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिमल लामिछानेले आधारभूत पत्रकारिता तालिमबाट नै पत्रकारितामा सिकाईको अभ्यास प्रारम्भ हुने जिकिर गरे ।
कार्यक्रममा बोल्दै सङ्घीय प्रेस फोरमका उपमहासचिव कमन देवानले तालिमलाई अवसरका रूपमा सदुपयोग गरेर व्यवसायिक पत्रकारितामा लाग्न प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा दमक वडा नम्बर ८ का वडा अध्यक्ष पशुपतिराज गौतम, सङ्घीय प्रेस फोरम, नेपालका १ नम्बर प्रदेश अध्यक्ष फिपराज बेघा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत र अन्य प्रशिक्षार्थी गरी ३० जना सहभगी छन् ।
झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहलाई समेट्ने गरी स्थापना भएको दमक पत्रकार मञ्ले यस क्षेत्रमा पत्रकारिको क्षेत्रमा लाग्न चाहाने नयाँ पुस्ताका लागि भनेर यो तालिम सञ्चालन गरिएको मञ्चका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा यज्ञ शर्मा रहने छ भने डिकेश लामा (नेपाल टेलिभजिनका), दिपिन राई (यलम्बर टाइम्स), बिमल लामिछान (हिमशिखर टेलिभिजन) लगायत अन्य पत्रकारहरुले सहजिकरण गर्ने मञ्चका सचिव देशराज नेम्बाङले बताए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको आधारभूत पत्रकारिता तालिमको संयोजन कमन देवानले गरेका छन् ।

