खोटाङ, १५ चैत्र ।
प्रदेशहरुको नामकरण गर्नका लागि विभिन्न छलफल बहस भइरहेको बेला नेकपाको तर्फबाट संघीय सांसद समेत रहेका विशाल भट्टराईले प्रदेश नं. १ को नामकरण गर्दै गर्दा किरात जोडिनुपर्ने बताएका छन् ।

खोटाङको दिक्त्तेलमा बिहिबार किरात राई विद्यार्थी संघले आफ्नो ९औं राष्ट्रिय सम्मेलन प्रचारार्थ आयोजित अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भट्टराईले पहिचानका कुराहरुलाई प्राथमिकता दिदै नामकरण गर्दा किरात जोडिनु पर्ने बताएका हुन् ।
किरात राई विद्यार्थी संघको ९औं राष्ट्रिय सम्मेलन “पहिचान र संंघीय शिक्षा लागु गरौं, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं” भन्ने मुल नाराका साथ यहि बैशाख २६ गते देखि २८ गते सम्म ३ दिनसम्म चल्ने किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष बिर्सिका राईले बताइन् ।
राष्ट्रिय सम्मेलन सफल बनाउँनका लागि सम्मेलन गर्न समय पुगेका जिल्ला कार्य समितिहरुको जिल्ला सम्मेलन गर्नका लागि यतिबेला संघका नेता तथा कार्यकर्ताहरु केन्द्रित भइरहेको समेत जानकारी गराएका थिए ।
किरात राई विद्यार्थी संघ र किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङको समन्वयमा भएको कार्यक्रममा नेकपाका नेता राम दंगाल, बबि चाम्लिङ, दुर्गाजयन्ती राईलगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सार्वजानिक डटकमबाट

