
कमल,२६ चैत ।। झापा, कमल गाँउपालिका –६ झारवारी स्थित स्माइल फनपार्क एण्ड रिसोर्ट उद्घाटनको तयारी पूरा भएको छ ।
आज फनपार्कमा सञ्चालकले पत्रकार सम्मेलन गरि यहि चैत २८ गते हुने फनपार्कको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । फनपार्कको उद्घाटन कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ ।

स्थानीय दिवान राई र लोकन्द्र राईले करिव ४ करोड रुपैयांको लगानीमा स्थापना गरेका सो फनपार्क नयाँ वर्ष २०७६ का अवसर पारेर विधिवत सञ्चालनमा आउन लागेको हो । उद्घाटन कार्यक्रमका संयोजक दिपेनवाला राईले फनपार्क सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको बताए ।
फनपार्कमा ग्राहकलाई भरपुर मनोरञ्जन प्रदान गर्न उद्घाटनका अवसर पारेर तीन दिनसम्म विभिन्न सांगीतिक कार्यक्रम समेत तय गरिएको सञ्चालक दिवान राईले जानकारी दिए । जसअनुसार, चैत २८ मा ‘अनिस श्रेष्ठ’ एण्ड ‘दि व्याण्डको’ प्रस्तुति रहने छ भने, दोश्रो दिन चैत २९ गते दार्जिलिङ्गको चर्चित ‘मन्त्र व्याण्ड’ र तेश्रो दिनमा भने ‘न्यू यएर इभा डान्स पार्टी विथ डिजे सुदिप’को प्रस्तुति रहने छ ।

कलाकारसंग रमाउन चाहनेका लागि सञ्चालकले न्यून शुल्कको टिकट तय गरेको छ । फनपार्कमा बाल उद्यानदेखि वगैचा,स्वीमिङ्ग, जनावरका प्रतिमा,वोटिङ्ग ,बनभोज स्थल,होमस्टे जस्ता सुविधाहरु उपलब्ध छन् ।

