
नवलपरासी ।। गण्डक नहरमा भारतले एकतर्फी रूपमा सुरु गरेको काम नवलपरासीका स्थानीय वासीन्दाले रोक लगाएका छन् । भारतीय ठेकेदारद्वारा धोबाहा नालामा सफाइको कामको लागि लगाइएको भारतीय एक्स्काभेटरलाई प्रतापपुर गाउँपालिकाका स्थानीयबासीन्दाले आइतबार रोकेका हुन् ।
प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ कठहवा स्थित धोबाहा नालामा कामको स्टिमेट र सहमति तयार नै नगरि स्थानीयवासीन्दाको निजी जग्गामा भारतीय एक्स्काभेटरको प्रयोग गरिएको अवस्थामा स्थानीयको आक्रोशित भीडले एक्स्काभेटर मेसिन रोकेर काममा रोक लगाएको हो । बिना अनुमति तथा बिना सहमति जथाभावी नाला खन्दा किसानको जग्गा खनिएको आरोप छ ।
किसानको लालपूर्जाको जग्गामा नाखा खन्न वा कुनै पनि भारतीय संरचना बनाउन नेपाल सरकारको सहमति हुनुपर्ने र किसानको जग्गाको क्षातिपूर्ति दिनुपर्ने हो तर, त्यसो नगरि एकाएक रूपमा खन्न थालिएपछि विभिन्न ५ बुँदे माग राखी स्थानीयबासीन्दा आन्दोलित बनेका हुन् ।
चोर्निया खोलाको पानी प्राकृतिक रूपमा निकास हुदै आएको धोबाहा खोलामा बिना सहमति भारतीय ठेकेदारले नाला खन्न थालेपछि आक्रोशित बनेका स्थानीयले एक्साभेटर रोकेका हुन् ।

