
बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद सकिएको छ । सरकारले बेरोजगार दर्ताका लागि चैत मसान्तसम्मको समय दिएको थियो ।
तर, पहिलो वर्ष भएकाले समय थप्ने सरकारको तयारी छ । सरकारले निर्णय गरेर समय थप्न सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो ।
“तोकिएको एक महिनाको समय सक्किएको छ, तर पहिलो वर्ष भएकाले सरकारले निर्णय गरेर समय थप्न सकिने प्रावधान पनि छ, तर अहिले नै के गर्ने भन्ने निर्णय चाहिँ भैसकेको छैन ।”-उहाँले भन्नुभयो ।
चैतसम्म कतिले रोजगारीका लागि आवेदन दिए भन्ने विवरण संकलन भैसकेको छैन । चैतभरी नै सबै स्थानीय तह र वडा कार्यालयमा बेरोजगारको आवेदन दर्ता गर्ने काम भएको छ । छुटेकाहरुलाई अझै एकपटक मौका दिने सरकारको तयारी छ ।
बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।
त्यसपछि, स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए-नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम १०० दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ ।
अहिले सरकारले रोजगार संयोजक नियुक्त गरेर स्थानीय तहमा पठाउने काम सुरु गरिसकेको छ ।

