adv

उदायपुरमा पनि भिषण हावाहुरीले एकको ज्यान गयो, उडायो आधा दर्जन घरको छानो

उदयपुर ।।   मंगलबार राती आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङबाट कटारी नगरपालिका ८ बबलामा ३७ वर्षिय कालीमाया आले मगरको मृत्यु भएको छ ।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) चन्द्रदेव राईले बताए । मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिएको पनि प्रहरी प्रमुख राईले बताए ।

हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढीको घरको छानो उडाएको प्राम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ ।
हावा हुरीले त्रियुगा नगरपालिका ३ स्थित चाँपका कोकाई दास चौधरीको घरको छानो, बलो, अन्नपात्त उडाएको छ । हाबाहुरीबाट करिव अढाई लाख बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ ।

 

यस्तै, त्रियुगा बस पार्कमा निर्माण भएको बस काउण्टरको छानो समेत उडाएको छ । पाँच वर्ष अगाडी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीद्वारा निर्मित टिकट काउण्टरको भवनको छानो उडाएर ५० मिटर टाढा पुर्याएको मजदुर नेता दिल बहादुर तामाङले बताए । उनका अनुसार छानो उडाउँदा तीन वटा मजदुर संगठनहरुको कागजपत्र समेत भिजेर नष्ट भएको बताए ।

हावाहुरीले त्रियुगा बस पार्क, जलजले र मुर्कुचीमा विद्युतको पोल ढलेर विद्युत अवरुद्ध भएको थियो । हावाहुरीले खैजनपुर, जोगिदह, हडिया, मुर्कुची लगायतका स्थानीयहरुको घरमा क्षति पुर्याएको प्रारम्भिक तथ्याङ्क आएको प्रहरीले जानकारी दिए ।

हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपलाई क्षति पुर्याएको छ । हावाहुरीले करोडौँको लिची र आँप क्षति भएको स्थानीयवासीले बताएका छन् ।
हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–५ सुन्दरपुरका जगतराम चौधरीले बताए ।

यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताए ।
हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए । कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए ।

-साभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु