
बलिउड अभिनेता सलमान खान र अजय देवगन एकअर्काका असल साथी मानिन्छन् । यी दुवैजनामा एउटालाई कुनै समस्या आइपर्दा अर्को सहयोगका लागि अघि सर्छन् ।
यस अघि जब अभिनेता अक्षय कुमार र करण जोहरले फिल्म ”केसरी” को घोषणा गरेका थिए तब सलमान खान उक्त फिल्मको सह-निर्माता थिए । तर, पछि अजय देवगनका लागि सलमान खानले ”केसरी” बाट हात झिकेका थिए ।

त्यस समयमा अजय देवगनले पनि त्यही विषयमा फिल्म निर्माण गर्ने योजना बनाइरहेको कुरा सलमानले थाहा पाएपछि उनले ”केसरी” को निर्माण गर्न अस्वीकार गरिदिएका थिए । यस घटना बाहेकको विभिन्न समयमा पनि सलमान र अजय सदैव एकअर्काको निकै काम लाग्ने गर्छन् ।
तर, अहिले आएर अजय देवगनले यस्तो काम गरेका छन्, जसका कारण अजय र सलमानबीचको मित्रतामा फाटाे आउन सक्ने अनुमान लगाइँदैछ ।अक्षय कुमारले निर्देशक रोहीत शेट्टी र करण जोहरसँग मिलेर ”सूर्यवंशी” चलचित्र आउँदाे ईदको अवसरमा रिलिज गर्ने घोषणा गरिसकेका छन् ।
यस फिल्ममा अजय देवगन र रणवीर सिंंहको पनि अभिनय रहने आधिकारिक घोषणा समेत भइसकेको छ । रणवीर सिंह यस फिल्ममा ”सिम्बा” को रुपमा देखिनेछन् भने अजय देवगन ”सिंघम” बनेर आउनेछन् ।

यता अभिनेता सलमान खान पनि २०२० को ईदमा उनको फिल्म ”इन्शाअल्लाह” रिलिज गर्ने तयारीमा छन् । सलमानको यस फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट रहने छिन् । फिल्म ”इन्शाअल्लाह” को निर्देशन सञ्जय लीला भन्सालीले गर्दैछन् । भन्सालीले अजयसँग यस अघि फिल्म ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए ।
यतिबेला बलिउडमा फिल्म ”सूर्यवंशी” र इन्शाअल्लाह” को भिडन्तलाई लिएर चर्चा चलिरहेको छ । साथै अजय देवगन ”सूर्यवंशी” मा जोडिएपछि यो कुरा सलमान खानका लागि असहज हुने चर्चा पनि भइरहेको छ ।
पछिल्ला केही वर्षदेखि अभिनेता सलमान खानले लगातार ईदमा आफ्ना फिल्महरु रिलिज गर्दै आइरहेका थिए । तर अब २०२० को ईदमा अक्षयको ”सूर्यवंशी” र सलमान खानको ”इन्शाअल्लाह” बीच भिडन्त हुनेछ । अक्षय कुमार र सलमान खानबीचको भिडन्तमा अभिनेता अजय देवगन अक्षय कुमारको फिल्ममा जोडिएपछि सलमान र अजयबीचको मित्रता पनि असर पर्ने पक्का भएको छ ।

