विर्तामाेड, ३ असाेज ।
झापा स्पोर्टस अवार्ड २०७५ का लागि मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम आज शुक्रबार बिर्तामोडमा एनएसजेएफ झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे छ ।
खेलाडी र खेलकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आएको झापा स्पाेर्टस अवार्ड नेपाल खेलकुद पत्रकार मञ्ञ (एनएसजेएफ) झापा समन्वय शाखाको आयोजना रहेकाे छ । अवार्डकाे तेश्राे संस्करणमा झापाबाट सात र इलाम जिल्लाका पाँच मनाेनयनमा परेका छन् ।

पुरुष बर्ष खेलाडीतर्फ फुटबलका नवयुग श्रेष्ठ, शारीरिक सुगठनका उमेश राई , शारीरिक सुगठनकै राम दाहालकाे नाम मनाेनित भएकाे हाे । त्यस्तै गरी महिला बर्ष खेलाडीतर्फ फुटबलकी एन्जिला तुम्वापो सुब्बा, भलिबलकी विनिता बुढाथोकी र कराते खेलाडी एस्तर राईसंगकाे प्रतिस्पर्धा गर्नुपर्ने भएकाे छ ।
युवा बर्ष खेलाडीतर्फ छिरिङले झापाकी क्रिकेटर अप्सरी बेगम, ब्याडमिन्टनकी अमिता गिरी र फुटबलका छिरिङ गुरुङ युवा बर्ष खेलाडीका लागि प्रतिस्पर्धा गर्ने भएकाे छ । प्रशिक्षकतर्फ कराते विधाका योगेश चाम्लिङ राई, महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्का र बक्सिङका डम्बर लिम्बुसंग प्रतिस्पर्धा गर्नेछन् ।
वर्ष खेलाडी (पुरुष)लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)लाई नगद २५ हजार र वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।
‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापना कालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गर्छ भने अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्टस् अवार्डमा आमा स्वर्गीय राजकुमारी गुरुङ, बुवा स्वर्गीय बलबहादुर गुरुङ र भाउजू स्वर्गीय तितामाया गुरुङको स्मृतिमा एक थान मोटरसाइकल र एक थान स्कुटर प्रदान गरेका थिए ।
त्यस्तै, अन्य सामाजिक संघसस्था र व्यापारिक प्रतिष्ठानबाट समेत अमूल्य सहयोग भएको थियो । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ । पत्रकार सम्मेलनमा प्रतिभा छनौट समितिका संयोजक बुद्ध तामाङ र मञ्चका निवर्तमान अध्यक्ष रमेश समदर्शी राईले अवार्डबारे जानकारी गराएका थिए ।

