काठमाण्डाै, १ कात्तिक ।
नेपालका आदिवासी जनजातिहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाण्डाैमा शुरु भएको छ । सम्मेलनकाे उद्घाटन समाराेह कामाण्डाैकाे राष्ट्रियसभा गृहमा भएकाे हाे ।
सम्मेलनमा महासंघका उपाध्यक्ष नविन रोका मगरले यस सम्मेलनले आदिवासी जनजातिहरूको मनोविज्ञान र उठाइरहेको साझा मुद्दालाई अघि लैजान पहल गरेको बताएका थिए । थात्थलोसहितको पहिचानका लागि नयाँ उचाइमा लैजानका लागि आजसम्म भएको काममा समीक्षा गर्न यो सम्मेलन गरिएको बताए ।

प्रदेश नं. ३ समन्वय परिषदका अध्यक्ष काजिमान थिङले जति पनि चेतना र ज्ञान छ त्यो अब प्रर्याप्त नभएको बताए । अभियान अरुको चित्त बुझ्दो पनि हुन आवश्यक भएको पनि बताए । त्यसैगरी आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार नेपालका आदिवासी निरन्तर संघर्षको लडाइमा रहेको र अझै जारी रहने बताएका थिए । थुप्रै राजनीति संघर्ष भए तर त्यहाँ नेपाली आदिवासी जनजातिको मुद्दालाई मुख्य एजेन्डा बनाइयो र एउटा तहमा पुगेपछि ती नेतृत्वले पुनः मुद्दालाई ओझेलमा पार्ने गरेको आरोप लगाए । अब कसैले नगरिदिने, आदिवासी जनजाति आफैले गर्नुपर्ने सुनुवारको भनाई थियो ।
नेफिन जापान अध्यक्ष सुमन लेछर्वो लिम्बूले आदिवासी जनजाति अगाडि बढ्ने क्रममा चुकिरहेको बताएका थिए । यो सम्मेलनले ठोस बाटो तय गर्नुपर्ने, हकहित र थात्थलोको सुनिस्चितता गर्नुपर्नेमा जोड दिएका थिए । विदेशको दुःख आफुलाई मात्रै थाहा हुने, जस्तो अवस्थामा रहे पनि एउटा मजदुरको रूपमा रहनुपरेको र त्यही रेमिट्यान्सले देश धानेको बताए । रेमिट्यान्स भित्र्याउनेमा बढिजसो आदिवासीहरू नै रहेका लिम्बूले बताए ।
पूर्व माननीय आङ्दावा शेर्पाले सन् २००२ मा आदिवासी जनजातिको अवस्था अमेरिकामा पनि उस्तै देखेर आएको बताइन् । झाँकीमा उपस्थितिबाहेक अन्य कुनैमा भुमिका नभएको उनको ठम्याई थियो । आदिवासीहरू शासित मानसिकताबाट माथी उठ्न नसकेको र अहिले आएर आदिवासीको केही भुमिका देख्दा गर्व लागेको बताइन् ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले नेपाल देशको सबै आदिवासीहरूको राष्ट्र हो भन्ने देशले बुझ्नुपर्ने बताए । वर्तमान संरचनामा आदिवासीको उपस्थितिमा राज्यले वेवास्ता गरेकोमा चिन्ता व्यक्त गरेका थिए । आदिवासीको मुद्दालाई वेवास्ता गरेको कुरामा सशक्त रूपमा अघि बढ्नुपर्ने राईको भनाई थियो ।
नेता जीव छिरिङ लामाले आफू कार्यारत पार्टीमा आफ्नो हक अधिकारको प्रश्न उठाउने कि नउठाउने भन्ने प्रश्न गरेका थिए । अब राजनीतिक पार्टीमा मुद्दा नरहेकोले एकजुट हुने समय आएको कुरा औंल्याएका थिए । राज्यको नीतिमा विभेद रहेको बताउँदै एकजुट भएर लड्ने समय आएको कुरा औंल्याएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव पर्शुराम तामाङले आदिवासी समुदायले जितेकै, धर्मनिरपेक्षताको कुरा उठाउने आदिवासी रहेको बताएका थिए । ‘आदिवासीले खिन्न हुनुपर्ने छैन, जे कुरा प्राप्त गरेका छौ यसबाट गर्व गर्नुपर्छ । हामीले प्राप्त नगरेको एउटै मात्रै कुरा आत्मनिर्णय सहितको अधिकार मात्रै हो ।’ तामाङको भनाई थियो ।
कार्यक्रमको बिचमा विभिन्न जातिका सांस्कृतिक झाँकीहरूको प्रस्तुति रहेको थियो ।

