माङसेबुङ, ५ कात्तिक ।
इलामको माङसेबुङमा जारी माईथुम्की पुष्पाञ्जली गोल्डकप २०७६ का अन्तिम चरणका सेमिफाइन खेलहरु आज सम्पन्न भएको छ । असोज २७ गते देखि सुरु भएको गोल्डकप भोलि ६ गते सम्पन्न हनेछ ।

आज सम्पन्न सेमिफाइनलको पहिलो खेलमा माइ नगरपालिका १ माझिटारलाई जनआदिवासी बि सिङफेरेले ३ का विरुद्ध ४ गोलको नतिजा निकाल्दै फाइनल खेल्ने पक्का गरेको छ । माझिटारको तर्फबाट खेलको ११औं मिनेटमा जर्सि नं. १७ का सन्तु लिम्बुले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यस्तै १४औं मिनेटमा पुनः माझिटारकै जर्सि नं. ११ का सन्तोस लिङ्देनले दोस्रो गोल गर्दै खेलको अग्रता कायमै राखेका थिए । पहिलो हाफसम्म २ सुन्यको नतिजा निकालेको माझिटारले दोस्रो हाफमा भने सन्तोष जनक खेल खेल्न सकेन ।
त्यसैको फाइदा उठाउदै खेलको दोस्रो हाफको १३औं मिनेटमा जनआदिवासी बिको तर्फबाट जर्सि नं. ९ का ओमप्रकाश तामाङले गोल फर्काउदै आफ्नो टिमलाई खेलमा फर्काएका थिए । जनआदिवासीको तर्फबाट नै दोस्रो हाफको १८औं मिनेटमा जर्सि नं. ७ का प्रविण राई र २७औं मिनेट सुसान्त कार्कीले एक एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।
जनआदिवासीको तर्फबाट नै जर्सि नं. ७ का प्रविण राईले खेलको अन्तिम मिनटमा दोस्रो गोल गर्दै टिमको जितलाई सुनिश्चित गरेका थिए भने माझिटारको तर्फबाट एडिसनल समयमा सान्तवना गोल फर्काउदै ३–४ को नतिजामा चित्त बुझाएका थिए । त्यससँगै जनआदिवासी बि फाइनल प्रवेश गरेको छ । खेलमा माझिटारका गोलकिपर भिष्म लिङदेन म्यान अफ द म्याच घोषित भएका थिए ।
सेमिफाइनलको दोस्रो खेलमा आयोजक एम.पि.सि. ले भालुटार ए विरुद्ध ६ सुन्यको फराकिलो नतिजा निकाल्दै फाइनल प्रवेश गरेको छ । दुवै टिमको उत्कृष्ट प्रर्दशन रहेको उक्त खेलमा खेलको ९औं मिनेटमा एम.पि.सि.को तर्फबाट जर्सि नं. १० का जिदान राईले सेन्टर छेउबाट प्रहार गरेको बलले जालि चुमेसँगै टिमलाई १ सुन्यको अग्रता दिलाएको थियो । त्यस्तै खेलको २२ औं मिनेटमा पुनः एम.पि.सि. आयोजकका जर्सि नं. ९ का पुजन राईले दोस्रो गोल गर्दै टिमको अग्रता कायम गराएका थिए ।
खेलको पहिलो हाफसम्म २ सुन्यको नतिजा बनाएको एम.पि.सि. आयोजक टिमले दोस्रो हाफ अझ उत्कृष्ट खेल प्रदर्शन गर्दै एम.पि.सि.आयोजकको तर्फबाट दोस्रो हाफ खेलको २२औं मिनेट र २५औं मिनेटमा गोल गर्दै नतिजालाई फराकिलो बनाएका थिए । आयोजककै तर्फबाट जर्सि नं. ६ का प्रदिप मगरले दोस्रो हाफको अन्तिम मिनेटमा १ गोल थपेका थिए । आयोजककै तर्फबाट इन्जुरी समयमा पुन जर्सि नं. ९ का पुजन राईले गोल गरेसँगै खेलको म्यान अफि द म्याच समेत घोषित भएका थिए ।\
आज भएको सेमिफाइनल खेल सम्पन्न भएसँगै भोलि हुने फाइनल खेलमा जनआदिवासी बि भर्सेस एम.पि.सि. आयोजक फाइनलमा भेट्ने पक्का गरेको छ ।

