दमक, १७ कात्तिक ।
डाले घाँस काट्ने क्रममा रुखबाट लडेर ढाड भाँचिएका ताप्लेजुङको हाल आठराई त्रिवेणी गाउँपालिका साविक चाँगे २ का ३७ बर्षिय टंक आङबुहाङको उपचारका लागि हङकङबाट नगद ५५ हजार ७ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । चाँँगेबाट हङकङमा गई बस्दै आएका चाँगे धर्ती आमा कोषले हङकङमा बसोबास गर्दै आएका नेपालीहरुसंग संकलन गरेर पठाएको सो सहयोग रकम आज दमक ४ अडियामहलस्थित आङबुहाङकी फुपुको निवासमा पुगेर पीडितलाईनै हस्तान्तरण गरिएको छ ।

कोषका अध्यक्ष भद्रकला आङबुहाङ र कोषाध्यक्ष दुर्गा आङबुहाङ मार्फत प्राप्त सो सहयोग रकम हाल इटहरीमा बस्दै आएकी इन्द्रमाया आङबुहाङ जंगबहादुर आङबुहाङ झापाका युवा सामाजिक व्यक्तित्व दिपेनवाला राई, दिपेश राई लगायतले पीडित टंक आङबुहाङलाई हस्तान्तरण गर्नु भयो । गत चैत्र २२ गते आफ्नै बारीमा घाँस काट्ने क्रममा सो घट्ना भएको थियो ।

घट्नापछि आङबुहाङको धरानस्थित घोपा क्याम्पमा प्रारम्भिक उपचार गराइएको र चिकित्सकहरुले पूर्ण रुपमा ठिक हुन नसक्ने बताएपछि दमक ४ स्थित उनको फुपुको घरमा बसेर आयुर्वेदिक पद्धतीबाट उपचार गराईरहनु भएको छ । उहाँकी श्रीमती सुशीला, २ छोरा र एक छोरी छन् । आफू शारिरीक रुपले अशक्त भएपछि छोराछोरीहरु ताप्लेजुङमा नै बस्दै आएका र निको हुने आशामा आफू दमकमा उपचाररत रहेको आङबुहाङले बताउनु भयो ।

