adv

आर्मीले चुम्याे पूर्वाञ्चल गोल्डकपकाे उपाधी

भूमिका सुब्बा, विर्तामाेड, २५ कार्तिक । 

झापाको डोमालाल राजबंशी रंगशालामा भएको प्रथम हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि बिभागीय क्लब त्रिभुवन आर्मीले हात पारेको छ ।

कप्तान टेकबहादुर बुढाथोकी नायक बन्दा आर्मीले उपाधि हात पारेको हो । जायोन स्पोर्टस क्लबद्धारा आयोजित गोल्डकपको बिजेता आर्मीले चर्च ब्वाइज युनाइटेडमाथी २–० ले हरायो । आधा दर्जन जति नियमित खेलाडीबिनै मैदानमा उत्रिएको आर्मीले सनसनीपुर्ण जित निकाल्दै उपाधि हात पार्न सफल रहयो ।

आर्मीको जितका लागि दुबै गोल कप्तान टेकबहादुर बुढाथोकीले गरेका थिए । खेलको ३१ औं मिनेटमा टंक बस्नेतको क्रस पासमा पहिलो गोल गरेका थिए । डि एरियाभित्र पाएको पासलाई पोष्टको दिशा दिंदै उनले टिमलाई १–० को अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा टिमको लागि टेकबहादुर बुढाथोकीले अर्काे गोल थप्दै आफ्नो टिमको जित पक्का गरे । बिवेक स्नेतको पासमा अनमार्क रहेका बुढाथोकीले बललाई भली प्रहार गर्दै टिमको जित पक्का गरेका थिए ।

मैदानमा बल पोजिसन आफ्नो पक्षमा पार्न सफल भएपनि बिपक्षी पोष्टमा गरेको आक्रामण कमजोर हुँदा चर्च ब्वाइजले उपाधि हात पार्ने अवसर गुमाएको थियो । खेलको ९ मिनेटमा डि एरियामा पाएको सुन्दर अवसर चर्च ब्वाइजका उमेश राइले खेर फालेका थिए । उनको फितलो प्रहार आर्मीका गोलरक्षक बिवस चौधरीले सहजै नियन्त्रणमा लिएका थिए । २५ औ मिनेटमा सुनिल खड्काले अर्काे अवसर गुमाए । उनले पोष्ट खाली रहेको अवस्थामा पनि बललाई फ्रेम भित्र पार्न सकेनन् । ६५ औ मिनेटमा पाल्साङ लामाले डि एरियामा पाएको बललाई शसक्त प्रहार गर्न नसक्दा चर्च ब्वाइज उपबिजेतामा सिमित हुन पुगेको थियो ।

आर्मीका दिपक गुरुङले खेलको ४७ औं मिनेटमा गरेको गरेको शसक्त फ्रि किकलाई चर्च ब्वाइजका गोलरक्षक बिनय श्रेष्ठलु पञ्च गरेर बचाए । खेलको इनज्युरी समयमा चर्च ब्वाइजका खेलाडी राजेन्द्र रावलले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

म्यान अफ द म्याच चर्च ब्वाइजका अशोक खवास घोषित भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगिताको बेष्ट गोलकिपर आर्मीका बिवस चौधरी, चर्च ब्वाइजका सुनिल खड्का उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स आर्मीका दिपक गुरुङ, उत्कृष्ट फरवार्ड आर्मीका टंक बस्नेत, बेष्ट कोच आर्मीका नविन न्यौपाने घोषित भए उनीहरुले जनही १५ हजार रुपैंयाँ पुरस्कार पाए । म्यान अफ द टुर्नामेन्ट आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । उनले ३२ इञ्चको टेलिभिजन र नगद ५० हजार रुपैंयाँ पाए ।

बिजेता आर्मीले ट्रफीसँगै नगद १२ लाख ५० हजार रुपैंयाँ पायो । चर्च ब्वाइजले ६ लाख २५ हजार रुपैयाँ मा चित्त बुझायो । कार्तिक १६ गतेदेखि शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, झापा ११ एफसी, सिक्किम आक्रामक, मोलवे आसाम, गोर्खा ब्वाइज रुपन्देही, शसस्त्र प्रहरीको एपीएफ क्लब, बेलबारी एफसी र आयोजक जायोन स्पोर्टस क्लबको सहभागिता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु