दमक, ११ मंसिर ।
झापाको दमक देखि माङसेबुङ गाउँपालिका स्थित पञ्चमी, माङमालुङ सम्म पहिलो पटक पदयात्रा हुने भएको छ । आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य राखिएको पदयात्रा मंसिर २५ गते दमकबाट बिहान ५ः३० बजे प्रस्तान गर्ने भएको छ । दमक देखि फुइके हुदै पुरानो बाटो पेरुङेको चेपारो बाटोलाई पदयात्राको मार्गको रुपमा लिइएको छ ।

करिव २ सय ५० वर्ष अघि यो बाटो पत्ता लगाइ यस बाटोबाट इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम क्षेत्रमा बसोबास गर्ने मानिसहरु कुचो, अधुवा लगायतका सामग्री बोकेर मधुमल्ला (सोमबारे)बजार ल्याउने र बिक्रि गरेपछि नुन किनेर त्यहि बाटो फर्किने प्रमुख मार्ग रहेको स्थानिय जानकारहरु बताउछन् ।
त्यतिबेला मगर थरका बलवन्ते भन्ने व्यक्तिले पहिलो पटक यस मार्गको पत्ता लगाएको स्थानियहरु बताउँछन् । बलवन्त मगरको असामाजिक गतिविधिका कारण राणाकालमा सुखानी छेउमा रुखमा टागेर मारेको बताइन्छ ।

बिहान ५ः३० बजे दमकबाट प्रस्तान गरी फुइकेमा चिया नास्ता खाने तालिका बनेको छ । फुइके देखी निकै पुरानो बाटोलाई ताजकि बनाउन पहिलो पटक यस कार्यक्रमको आयोजना गरिएको हो । फुइकेबाट फड्के, पिडिबास, दोभाने हुदै पेरुङे पुगिनेछ । जब पेरुङे पुगिन्छ त्यहाँ देखि मावा खोलालाई छोडेर पुरै चेपारो बाटो तय हुन्छ । त्यहादेखि पाङग्रीझ्याल, एक्लेचुली, मगर विसौनी, ओडारे, जरा विसाउने, करमबोटे हुदै दिनको १२ बजे कुसुन्डेमा पदयात्राको टोलि पुग्नेछ । कुसुन्डेमा खाना खाने तालिका रहेको जहाँ ३० मिनेटको समय थकाइ मारिने छ ।
खाना खाइसकेपश्चात पुनः यात्रा तारेभीर, अमले, टोड्के, थाक्रेवर हुदै बाँझोगाउँ पुगिन्छ । जहाँ जसमनि धर्मवलम्बीहरुको आस्थाको धरोहर मन्दिरको दर्शन गर्न सकिनेछ । त्यपछि जसमनी, सुकेआहाल हुदै रमिते पुगिन्छ । जुन स्थानमा तेह्रथुम, पाँचथर, इलामका भरियाहरुको छुटिने स्थान पनि हो ।
त्यसपछि भने यात्रा चिसोपानी पञ्चमी तिर मोडिनेछ । रमिते देखि गैरिटार, किवाखोर भएर चिसोपानी पञ्चमी बजार पुग्न सकिन्छ । बेलुका ५ बजे पञ्चमी बजारमा रात्री बास बस्ने र २६ गते ९ः३० बजे खाना खाइ दमक तर्फ प्रस्तान गर्ने समय तालिका होटल व्यवसायी संघ, दमकले सार्वजनिक गरेको छ ।

स्थानिय स्तरका स्रोतहरुको परिचालन गर्दै आर्थिक उन्नतिको पाटोमा जोड््नका लागि पनि यो पदयात्रा मार्ग तय गर्न लागिएको हो । व्यापारिक दृष्टिकोणले दमकसँग प्रत्यक्ष सम्बन्ध राख्ने इलामका पश्चिमि भुभागमा पर्ने यस क्षेत्रको वाह्य तथा आन्तरिक पर्यटनलाई भित्रियाने लक्ष्य सहित सुरु गर्न लागिएको पदयात्राले पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्ने होटल व्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र दंगालले विश्वास व्यक्त गरे । अध्यक्ष दंगालले भने– पर्यटन प्रवद्र्धनका लागि दमकसँगै पूर्वका पर्यटकीयस्थलहरु सम्म पुग्नका लागि पदमार्गको विकास गराउन समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
करिब ४० किलिमिटर दुरीको सो पैदलयात्रा पर्यटन वर्ष २०२० को स्वागतसँगै पदयात्राका क्रममा सो क्षेत्रमा रहेको चुरे , पहाड, डाँडाकाँडा, चिया बगान लगायत स्थानीय परिवेश र हरियाली वातावरण नियाल्न सकिनेछ । पैदलयात्रामा १ सय जनाको सहभागिता रहने होटल व्यवसायी संघ दमकका अध्यक्ष राजेन्द्र दंगालले बताए ।


