माङसेबुङ, १५ मंसिर ।
इलाम जिल्ला माङसेबुङ गाउँपालिकामा जारी आत्मानन्द कपकाे १२औं संस्करणमा अाज भएकाे पहिलाे समिफाइनल खेलमा पाहुना टाेली मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब दार्जिलिङ फाइलन प्रवेश गरेकाे छ । अाइतबार भएको पहिलो सेमिफाइनलमा एएससी अर्जुनधारा झापा विरुद्ध २–० को सहज जित निकाल्दै दार्जिलिङ उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा १ नै अग्रता कायम गर्न सफल दार्जिलिङले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेलको २२ औं मिनटमा नै दार्जिलिङका आशिस राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ गोल खाएको झापा दोस्रो हाफमा समेत खेलमा फर्कन सकेन । विपक्षीलाई निरन्तर दवावमा राख्न सफल दार्जिलिङले ६० औं मिनटमा अग्रता दोब्बर बनायो । पुजन राईले टिमका तर्फबाट दोश्रो गोल गरी टिमलाई २–० को सहज जित दिलाएका थिए । खेलको म्यान अफ दि म्याच विजेता दार्जिलिङका भवेस राई घोषित भए ।

उपाधिका लागि दार्जिलिङले सोमबार हुने दोश्रो तथा अन्तिम सेमिफाइनलको विजेतासँग मंगरबार खेल्नेछ । सोमबार अन्तिम सेमिफाइनलमा रेडस्टार क्लब विर्तामोड र भाङबारी स्पोर्टिङ युथक्लब दमकबीच हुँदैछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।

