माङसेबुङ, १६ मंसिर ।
माङसेबुङमा जारी आत्मानन्द कपको आज भएको सेमिफाइनल खेलमा रेडस्टार विर्तामोड झापालाई पराजित गर्दै भाङबारी स्पोर्टीङ यूथ क्लब फाइनल प्रवेश गरेको हो । भाङबारी स्पोर्टीङ दमकले रेडस्टार विर्तामोड विरुद्ध २–१ को नतिजा निकाल्दै फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टिम दोस्रो हाफमा आक्रमक खेल प्रदर्शन गर्यो । ५९ औं मिनटमा कर्ण लिम्बूको गोलबाट दमकले अग्रता लियो । ६७ औं मिनटमा विकास बस्नेतको गोलबाट पुनः दमकले अग्रता दोब्बर बनायो । यता विर्तामोडका तर्फबाट भने खेलको ७३ औं मिनेटमा बबिन बोहोराले सान्तावना गोल फर्काएका थिए । म्यान अफ दि म्याच विजेता दमकका विकास बस्नेत घोषित भए । जितसँगै भाङबारी स्पोर्टीङ क्लबले फाइलन खेल पाहुना टोलि मानेभञ्ज्याङ स्पोर्टीङ क्लब दार्जिलिङसँग भोलि १७ गते खेल्नेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवा समारोहको अवसरमा मसिंर १८ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित आत्मानन्द गोल्डकपलाई मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहले हरेक वर्ष आयोजना गर्दै आएको छ । एक दशक पहिले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द रनिङ गोल्डकप खेलको नगद पुरस्कार राशी यसवर्ष २ लाख १ सय ६६ रुपैयाँ पुगेको हो ।

वि.सं. २०६५ मा गुरुजन्मोत्सव समारोहको उप–समिति खेलकुद विभागको रुपमा किरात साम्यो नालीफुङवा पान्जुम्भोले सुरु गरेता पनि २ वर्ष पछि खेलकुदको दिगो विकास र विस्तार गर्न नालीफुङवा पान्जुम्भोबाट छुट्टै संगठन संरचना बनाई किरात साम्यो हक्चात यक्चुम गठन गरी आत्मानन्द गोल्ड कपको संयोजन गर्दै आएको छ ।

