चिसोका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुको सुचना
सुसन राई, दमक, ६ पुष ।
तराई क्षेत्रमा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसो बढेका कारण दमक नगरपालिकाले पुष ७ गते देखी पुष १० गते सम्म नगरभित्रका सबै विद्यालयहरु बिदा दिनका लागि सुचना जारी गरेको छ ।
अहिले चिसो बढेको कारण विदा दिएर पछि विद्यालयको अन्य विदाहरुमा मिलान गर्ने गरी विदा दिनका लागि सुचना जारी गरेको दमक नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको हस्ताक्षरीत सुचनामा उल्लेख छ । नगरभित्र २३ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने ६३ वटा निजि विद्यालयहरु संचालनमा छन् ।

त्यस्तै कमल गाउँपालिकाले पनि पुष ७ र ८ गते गाउँपालिका भित्रका सबै विद्यालयहरुमा विदा दिनका लागि सुचना जारि गरेको छ । चिसो मौसमका कारण हुनसक्ने समस्यालाई मध्यनजर गर्दै उक्त निर्णय गरि सुचना जारी गरिएको सुचनामा उल्लेख छ ।
चिसो मौषमकै कारण इटहरी उपमहानगरपालिकाले पनि विद्यालयहरु विदा दिनका लागि सुचना जारी गरेको छ । पुष ७ गते देखी ९ गते सम्म ३ दिन बिदा दिन सुचना जारी गरेको हो । कक्षा १ देखी १२ कक्षासम्मका विद्यालयहरुका लागि सुचना जारी गरिएको जनाएको छ ।



