माङसेबुङ, ५ माघ ।
सावयेहाङ किरात खिवेक्वा याक्वा सेवा माङवा हाङवा कार्यक्रम २०७६ को उद्घाटन समारोह सम्पन्न भएको छ । माघ ६ गतेसम्म हुने माङवा हाङवा वितरण कार्यक्रमको उद्घाटन समारोहको आज आइतबार मुल समारोह समितिका अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा तथा इलाम जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । इलाम जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बरालले माङसेबुङलाई नेपालको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जिल्ला समन्वय समितिको तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिवद्ध व्यक्त गर्नुभएको छ ।

आइतबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवा माङवा हाङवा कार्यक्रम २०७६ को उद्घाटन गर्दै जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले माङसेबुङलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न जिल्ला समन्वय समिति तयार रहेको बताउनुभयो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देवसमुस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले आर्शिवचन दिनुहुदै सबै झक्तजनलाई शान्तिको पक्षमा लाग्न आग्रह गर्नुभयो । खिवेक्वा पर्वलाई विशेष महत्व दिएर मनाइने भएको र आत्मा शुद्ध भएर सबैलाई शान्तिको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

गुरुज्यूले भन्नुभयो पहिले यहाँ केही उब्जनी हुदैन थियो तर जब माङवाहाङवा वितरण गर्न थालेपछि उब्जउ समेत बढ्दै गएको बताउनुभयो । महागुरु फाल्गुनन्दले हामिलाई सबै क्षेत्रको ज्ञान दिनु भएको छ त्यसलाई हामिले अनुसरण गर्नु पर्छ । विश्व शान्ति मानव एकताको सन्देश भनेको यहि रहेको बताउनुभयो ।

माङसेबुङ गाउँपालिका स्थित किरातीहरुको पवित्र स्थल माङसेबुङमा अन्न बालि लाउने समयमा अन्न धेरै फलोस रोग बिराम नलागोस, बालि नालि राम्रो बनोस् भनेर गरिने भुमि पुजा अर्थात यस उभौली पुजाको अवसरमा आयोजित कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नरेन्द्र राई, किरात धर्म अमेरिका प्रतिनिधि नाम फुरुम्बो, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति इलामका अध्यक्ष अभिषेक एक्तेन लगायत पार्टी प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यसअघि शुक्रबार मेक्वा खोलामा गालीश्राप वहन्ती गरिएको थियो । पिता पुर्खाको गाली श्राप नलागोस भनेर यो कर्म गरिन्छ । शनिबार विश्व शान्ति र मानव एकताका लागि पुजा गरिएको थियो ।
माघ ६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ ज्यूको अमृतमय आशिर्वचन, माङवा–हाङवा वितरण र साँझ विश्व शान्ति तथा मानव एकताको कामना गर्दै एक लाख आठ हजार दिप प्रज्वलन गरिने मुल समारोह समितिका अध्यक्ष केहरसिंह योङहाङले बताए । उनले मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक–पुस्तिका विमोचन, मिम्जीरेन मिक्तोक वितरण समेत गरिने बताए ।
कार्यक्रममा अमेरीका, बेलायत, हङकङ, बर्मा, भुटान, दार्जि्लिङ, सिक्कीम लगायत नेपालका विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु कार्यक्रममा सहभागी हुन माङसेबुङ आएका छन् । प्रकृति पूजक किरात समुदायले विशेष पर्वको रुपमा मनाईने सावयेहाङ खिवेक्वा याक्वा सेवा माङवा हाङवा वितरणा कार्यक्रम देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

