विराटनगर ।
प्रदेशको बाल सहभागीताको अवस्था र चुनौतिको विषयमा प्रदेश नं १ का १४ वटै जिल्लाका बाल अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले अन्तरक्रिया गरेका छन् ।
कन्सोर्टियम नेपाल, प्रदेश समितिको आयोजना र विभिन्न विकास साझेदार संघ संस्थाहरु वल्र्ड भिजन इन्टरनेशलन, यु.एन.एच.सी.आर, करुणा फाउण्डेशन, लथरन वल्र्ड फेडेरेशन, एस.वो. एस. यू.एम.एन. मानव अधिकार मञ्च तथा नारी विकास संघको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि एवं सामाजीक विकास समितिको सभापति माननीय सरिता थापा खड्काले बालबालिकाहरुको सुनिश्चितिताको लागि कानुन तथा नीतिमा नै सम्वोधन गरिनु पर्ने बताउनु भएको छ । साथै कार्यक्रममा सामाजीक विकास मन्त्रालयका सुमन अधिकारीले मन्त्रालयले प्रदेश स्तरिय ए्ेन तथा नियमावलीहरुमा बाल सहभागीताले प्राथमिकता पाउनेगरी छलफलहरु भइरहेको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले प्रदेश स्तरीय ऐन, कानुन तथा नीतिहरुमा स्पष्ट रुपमा बाल सहभागीताको विषयलाई उल्लेख गरिनुका साथै बाल सहभागीता कार्यढाँचा तयार गर्न सामाजीक विकास मन्त्रालयलाई अनुरोध गर्नु भएको छ ।
उक्त कार्यक्रममा सामाजीक महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, बाल अधिकार विज्ञ खिला निरौला, यु.एन.एच.सी.आरका संगिता खतिवडा, करुण फाण्डेशनका कमल कोइराला तथा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले विभिन्न क्षेत्रका बालबालिकाहरुको सहभागीताको अवस्था, चुनौति र भावी कार्यदिशाको बारेमा सहजीकरण गर्नु भएको छ ।
१४ वटा जिल्लाका ५३ जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको समापन सत्रको प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री माननीय, जसमाया गजमेरले बाल सहभागीतालाई आगामी दिनमा प्रदेश सरकारले महत्वका साथ ध्यान दिने र नीति तथा योजनामा बाल सहभागीतालाई सुनिश्चितिता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता कन्सोर्टियम प्रदेश नं १ की संयोजक स्वस्तिका पोखरेलले गर्नु भएको थियो भने कार्यक्रममा सहसंयोजक रुद्र थेवेले स्वागत गर्नु भएको थियो ।

