काठमाण्डौ, १७ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरिएको छ । आष्ट्रियसभा गृहमा जारी बैठकमा विभिन्न समुहका टोली नेताले रिपोर्टीङको क्रममा सम्पत्ति छानविन आयोग गठनको माग गरिएको हो ।
बैठकमा शुक्रबार चारवटा समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए । त्यसक्रममा पारदर्शिता, सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने र कतिपयको आवश्यक परे सम्पत्ति छानविननै हुनुपर्ने कुरा आएको छ । समूह ११ का टोली नेता लेखनाथ न्यौपानेले आयोग गठनको प्रस्ताव राखेका थिए ।
तीन तहका सरकारका कामको मुल्यांकन हुनुपर्ने र जनप्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुरा बैठकमा गम्भीर रुपमा उठेको छ । राजकीय पदमा जानेहरुको सम्पत्ति छानविन गर्ने र अवसरहरु न्यायोचित रुपमा वितरण हुनुपर्ने माग केन्द्रीय कमिटी बैठकमा उठेको छ।

एमसीसीका सन्दर्भमा भने केन्द्रीय कमिटीमा बहुमत अल्पमतका आधारमा निर्णय गर्नुभन्दा पनि विज्ञहरु सहितको कार्यदल बनाएर पार्टीको एउटै धारणा लैजानुपर्ने सुझाव प्रस्तुत भएको पार्टीका केन्द्रीय सदस्य यज्ञराजसुनुवारले बताए । उनले एमसीसीलाई धेरै विवादित नबनाई पार्टीले जिम्मेवार ढंगले निकाल्नुपर्ने सुझाव नै आएको जानकारी दिए ।
त्यस्तै नेकपा केन्द्रीय कमिटीमा विभिन्न स्वर्गीय नेताहरुका नाममा गठन गरिएका प्रतिष्ठान विघटनको माग पनि उठेको छ । समूहगत छलफलका विषय प्रस्तुत गर्ने क्रममा स्वर्गीय नेताका नाममा पार्टीभित्र गुट चलाउने घर बनेका प्रतिष्ठानहरु खारेज गर्नुपर्ने प्रस्ताव राखिएको हो ।
समूहगत छलफलबाट पार्टीको आचारसंहिता सचिवालय तहकै नेताबाट लागु हुनुपर्ने सुझाव प्रस्तुत भएको अर्का केन्द्रीय सदस्य विष्णु रिजालले बताए । छलफलका निष्कर्ष प्रस्तुत गर्ने क्रममा स्थायी कमिटी सदस्य दिनानाथ शर्माले नेताहरुले कुनै विषयमा बोल्नुअघि पार्टी बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए ।
कुनै ठूला मुद्दामा पार्टीमा छलफल गरेर धारणा बनाउनुअघि नेताहरुले आफ्नो बिचार सार्वजनिक गर्दा एमसीसीमा जस्तै समस्या देखिने गरेको केन्द्रीय सदस्यहरुको ठहर छ । त्यस्तै कम्तीमा केन्द्रीय कमिटी सदस्य तहका नेताहरु श्रम र उत्पादनसँग जोडिने नीति बनाउन नसकिए समाजवाद होइन दलाल पुँजीवादको बाटोमा जाने खतरा बढेको नेताहरुको भनाइ थियो ।

