दमक, १७ माघ ।
दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ्ग स्कुलले आज शुक्रवार खेलकुद प्रतियोगिता सहित विभिन्न अतिरिक्त शैक्षिक क्रियाकलापहरु सम्पन्न गरेको छ । ।
विद्यालयको प्राङ्गगणमा भएको कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुवीच सामूहिक नृत्य, दौड, ¥याम प्रस्तुत गरिएको थियो । साथै अभिभावकहरुवीच समेत म्यूजिकल चियर,आइक्यू रेस, वेलुन रेस लगायतका मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रमको मुख्य आर्कषण विद्यार्थीहरुको सामूहिक नृत्य रहेको थियो ।

जस अन्तर्गत कक्षा ३ का ९० जनाले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरि कक्षा ४ र ५ का २ सय विद्यार्थीहरुले समेत सामूहिक नृत्य प्रस्तुत गरि सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसै गरि अतिथिहरुबिच समेत बलद्धारा पानीको बोतल लडाउने खेल भएको थियो । सो खेलमा हिमशिखर मिडिया ग्रुपका प्रबन्धक निर्देशक सन्दिप न्यौपाने बिजेता भए ।
विद्यालयका संस्थापक अध्यक्ष मनोजकुमार राईकोे अध्यक्षता तथा नगरपालिकाको शिक्षा शाखाका प्रमुख दिनेश न्यौपानेको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण समारोहमा दमक १ का वडाध्यक्ष तारा प्रसाद अधिकारी , समाजसेवी कमल आङदेम्बे ,घनेन्द्र योङया लगायतले विभिन्न प्रतियोगितामा विजयी विद्यार्थी तथा अभिभावकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रष्फूटन गर्न खेलकुदसहित विभिन्न शैक्षिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए । कक्षा ५ की छात्रा युना केरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा अभिभावक,विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । २०३७ सालमा स्थापना भएको सो विद्यालयमा करिव ११ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सीपल राईले बताए ।

