माङसेबु्ङ, २३ माघ ।
हाम्रो पहिचान, राष्ट्रको शान भन्ने नाराका साथ १० औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता धार्मिक तथा पर्यटकीयस्थल माङसेबुङमा आज बिहिबार देखी सुरु भएको छ ।
आत्मा पवित्र हक्चात यक्चुमका आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा ए.पि.एस.सी. विजयी भएको छ । मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथरसँग भएको खेलमा २–० को नतिजा निकाल्दै ए.पि.एस.सी.ले खेलमा दोस्रो चरणको यात्रा तय गरेको हो । ए.पि.एस.सी. ले दोस्रो चरणको खेलमा चुलाचुली गाउँपालिका खेलकुद विकास समिति, इलाम र कन्काई एकाडेमिक स्पोर्ट झापाबीच हुने खेलको विजेता टिमको सामना गर्नेछ ।

विगतका वर्ष झै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङ्गेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता इलाम, पान्थर, झापा, मोरङ र सुनसरीका ८ टीमको सहभागीता रहेको हक्चातका सचिव सरिता राईले बताइन् ।
प्रतियोगितामा ए. पि. एस. सी. माङसेबुङ इलाम, कन्काई एकाडेमिक स्पोर्टस क्लब झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम, मिक्लाजुङ गाउँपालिका खेलकुद विकास समिति पाँचथर, लेटाङ फूटबल क्लब मोरङ, एम. सि. सि. फूटबल क्लब सूर्योदय न.पा. इलाम र माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलामको सहभागिता रहने आयोजक समितिका अध्यक्ष मन प्रसाद आङबुहाङले बताए ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
भोलि शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद विकास समिति इलाम र माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीबीच हुने आयोजक समितिले जनाएको छ ।
आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन दौड, छेलो ९पक्लुङ०, म्युजिकल चियर, हा“डी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ । म्याराथुनमा प्रथम हुनेले रु ५ हजार १ सय ६४, दोस्रोले रु ४ हजार १ सय ६४, तेस्रोले रु ३ हजार ३ सय ६४ र सान्तवना हुनेले रु २ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागि भई विजेता हुने खेलाडीहरुका लागि पनि पुरस्कारकाे व्यवस्था गरिएकाे जनाएकाे छ ।
पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

