इलाम, २४ माघ ।
राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता प्रकृया टुङ्याएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबिच एकतापछि दुई पार्टीको युवा संगठन मिलेर बनेको राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता टुङ्याएको हो । एकतापछि राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्ला कमिटि ७१ सदस्यीय बनेको छ ।

साविक युवा संघ नेपालबाट ३७ जना र साविक योङ कम्युनिष्ट लिग (वाइसीएल)बाट ३४ जना गरी ७१ सदस्यीय नयाँ कमिटि बनेको हो । नयाँ कमिटिका सदस्यले फागुन ५ गते सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ इलामका संयोजक महेश तिवारीले जानकारी दिनु भयो ।
संघले जिल्लामा एकता प्रकृया सके लगाएसंगै इलामका १० वटै स्थानीय तहमा समेत संयोजक र सह–संयोजक तोकेको छ । १० स्थानीय तह मध्ये साविक यवा संघले ७ र वाइसीएलले ३ स्थानीय तहको संयोजक पाएको छ ।
राष्ट्रिय युवा संघ नेपाल प्रदेश नम्बर १ अन्र्तगतका मोरङ र इलाममा मात्र एकता टुङ्गीएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मुना शर्माले जानकारी दिनु भयो । बाँकी जिल्लामा टिट्टै एकता टुङ्गीने बताइएको छ ।

