मेचीनगर, १९ फागुन ।
मेचीनगर ४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कलाकार मेलिना राईले खेलकुद सामग्री वितरण गरेकी छिन् । आज सोमबार एक कार्यक्रमकाबीच राष्ट्रिय ख्याति प्राप्त कलाकार राईले खेलकुद सामग्री प्रदान गरेकी हुन्।

मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, मेचीनगर खेलकुद विकास समिति सदस्य भूमिका सुब्बा, सञ्चारकर्मी सचित आनन्द सुब्बासहित गायिका राई विद्यालय परिसरमा पुगेर उक्त सामाग्री प्रदान गरेकी हुन ।

बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सवमा आइतवार साझ प्रस्तुति दिन झापा आएकी राईले सोही अवसर पारेर विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन् । आफ्नो वाल्यकाल सम्झदै गायिका राईले पढाइसंगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी लाग्नु पर्ने बताईन् । विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्न पाउदा खुशि लागेको बताईन् ।

मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बरालले यस्तो सहयोगले विद्यार्थीलाई थप हौसला मिल्ने बताए ।
पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधानले खेलकुद सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा सहायक प्रधानाध्यापक माधवप्रसाद सापकोटा, शिक्षक नविन सुवेदीलगायत विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

