सुसन राई, चुलाचुली १९ फागुन ।
इलामको चुलाचुली १ कमलमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका बीच नवनिर्मित सो भवनको उद्घाटन गरिएको हो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।

३३ लाख १८ हजार छ सय ६५ रुपैयाँ ४५ पैसाको लागतमा एकतले भवन निर्माण भएको हो । तीन कोठे सो पक्की भवन देवीडाँडा निर्माण सेवा प्रा.लि.ले निर्माणको जिम्मा लिइ सम्पन्न गरेको चुलाचुली गाउँपालिकाका प्रसासकीय अधिकृत काजिमान राईले बताए । स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवन १ कठ्ठा ४ धुर जग्गा बनेको हो । सो जग्गा स्थानीय हेमन्त चेम्जोङ÷बसन्ती लावती चेम्जोङले आफ्नो आमा बुवा स्व. कर्ण बहादुर चेम्जोङ र स्व. मनमाया फागो चेम्जोङको नाममा दान गरेको हो ।

चुलाचुली गाउँकार्यपालिकाको आयोजनामा गरिएको समुद्घाटन कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावतीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका प्रमु्ख बृज कुमार दास, वडा नं. ३ का वडाध्यक्ष नरेन्द्र लावती, वडा नं. २ का अध्यक्ष रणबहादुर लिम्बु, वडा नं. ५ का अध्यक्ष चन्द्रकुमार थापा, गाउँपालिकाका प्रशासकीय अधिकृत काजिमान राई, गाउँपालिका अध्यक्षका स्वकीय सचिव सञ्जय राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाउँपालिकाका शाखा अधिकृत तेजेन्द्र चापागाईलै सञ्चालन गरेको थियो भने गाउँपालिका प्रशासकीय अधिकृत काजिमान राईले स्वागत मन्तव्य राखेका थिए ।

