काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राई भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।
मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएपछि अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

