
हरप्रहर व्यूराे, १४ चैत्र ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसोन र स्वास्थ्य मन्त्री म्याट हेनककलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार प्रधानमन्त्री जोनसोनको स्वास्थ्य जाँच गरिएकोमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
बिबिसीले भनेको छ –‘प्रधानमन्त्री जोनसोनलाई कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसको केही घण्टा नबित्दै स्वास्थ्य मन्त्री हेनककलाई पनि संक्रमणको पुष्टि भएको हो ।’
प्राप्त समाचार अनुसार जोनसोनलाई रुँघा र ज्वरोको असर देखिएको छ । आफू संक्रमित भएको खबर पाएलगत्तै प्रधानमन्त्री जोनसोनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटमै सेल्फ आइसोलेसनमा रहेर उपचार थालेको समाचारमा उल्लेख छ ।
यद्यपि उनले तत्कालै पदबाट भने राजीनामा दिइहाल्ने अवस्था नरहेको बताइएको छ । बेलायतको सरकारी स्वास्थ्य संस्था एनएचएसका कर्मचारीहरुले जोनसोनको स्वास्थ्य परीक्षण गरेको थियो ।

