इलाम,२ बैशाख । कोरोना भाइरसका कारण जारि लकडाउनका कारण रोजगारी गुमाएका विपन्न परिवारलाई इलाममा सोमबार राहत वितरण गरिएको छ ।
इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो ।
७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि प्रसाद खनालले बताए ।
यस भन्दा पहिले राहत नपाएकाहरुलाई जिल्ला प्रशासन,नगरपालिका,स्थानिय जनप्रतिनिधिहरु लगायतको समन्वयमा राहत वितरण गरिएको खनालको भनाई छ । राहत वितरणमा समाजसेवी सुरेन्द्र राई,दिनेश काफ्ले,राजेन्द्र बराल,संदिपा खनाल,लिला खतिवडा,कमला बराल,मेनुका पराजुली लगायतले सहजिकरण गरेका थिए ।
इलाम नगरपालिकाका ४ वटा वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहत बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष केदार निरौलाले बताए ।
कोरोनाको संक्रमण संगै सरकारले नेपाललाई लकडाउन गरेपछि कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कुवेर न्यौपाने लगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाज सामाजिक क्षेत्रमा सक्रिय रुपले काम गर्दै आएको छ ।
समाजले देशका विभिन्न क्षेत्रमा भएका बाढी पहिरो,आगलागी,भूकम्प लगायतका प्राकृतिक प्रकोप र गम्भीर प्रकृतिका रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

