काठमाडाैं, ४ बैशाख । कोभिड १९ (कोरोना भाइरस) रोगको संक्रमण फैलने खतरालाई मध्यनजर गरी सरकारले स्थगित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) देशमा जारी लकडाउनका कारण अझै अनिश्चित बनेको छ ।
लकडाउन कहिलेसम्म रहन्छ भन्ने बारे स्वयम् सरकार नै अन्योलमा रहेका बेला एसईई परीक्षाको तयारीमा रहेका करिब पाँच लाख विद्यार्थी पनि अन्योलमा परेका छन् । चैत्र ६ गतेबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएपछि ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी अन्योलमा परेका हुन् ।
उनीहरु परीक्षाको लागि तयारी गरेर बसेका भए पनि परीक्षा कहिले हुने हो ? त्यसको कुनै ठोस मिति तय हुन नसक्दा समस्या भएको हो ।
एसईई परीक्षा स्थगित भएको एक महिना पुग्नै लाग्दा लकडाउनको समयावधि बढ्दै गएकाले कहिले र कसरी परीक्षा सञ्चालन गर्ने ? भन्नेमा सरकारी पक्षले निर्णय गर्न सकेको छैन ।

बैशाख ३ गतेबाट पनि लम्बिएको लकडाउन बैशाख १५ गतेसम्म तोकिएको छ । त्यसपछि लकडाउन नलम्बिएला भन्न सक्ने ठोस आधार पनि छैन । परीक्षा कहिले र कसरी गर्ने भन्ने बारेमा राय दिन सरकारले कार्यदल नै गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा गठित कार्यदलले यस बारे सरकारलाई राय दिने बताइएको छ । मन्त्रालयको मोटामोटी तयारी भने लकडाउन खुलेको तीन हप्तापछि परीक्षा सञ्चालन गर्ने रहेको बुझिन्छ ।
यसैबीच निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनले भने लकडाउन खुलेको १० दिनपछि एसईई परीक्षा गर्न सकिने राय दिएको छ । परीक्षार्थी तयारी अवस्थामा रहेकाले लकडायन खुलेको १० दिनबाटै परीक्षा सञ्चालन गर्न सकिने प्याब्सन अध्यक्ष टीकाराम पुरीको भनाइ छ ।
युनेस्कोको एक रिर्पोट अनुसार १८८ देश मध्ये ११ वटा देशले परीक्षा रद्द गर्ने निर्णय गरिसकेका छन् । अन्तर्राष्ट्रिय प्रचलन अनुसार आन्तरिक मूल्याङ्कनकै आधारमा एसईईको रिजल्ट घोषणा गर्ने सकिने भए पनि नेपालमा हाल यस विषयमा वहस केन्द्रित भएको छैन

