काठमाडाै, ८ बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । वल्डाेमिटरका अनुसार अहिलेसम्म विश्वभर ६ लाख २५ हजार एक सय २९ जनाले स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।
निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजार ८४ जना मानिसहरु निको भएर घर फर्किएका छन् । स्पेनमा पनि ७७ हजार ३ सय ५७ जना संक्रमितहरु निको भइसकेका छन् । अमेरिकामा पनि ७० हजार १२ जना संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख सात हजार चार सय पुगेकाे छ । अमेरिकामा सबैभन्दा बढी सात लाख ६४ हजार २ सय ६५ जना मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजार ६ सय ७४ जना संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजार नाै सय ७२ जनामा काेराेना संक्रमण देखिएकाे छ ।
कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ६५ हजार नाघेको छ । अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ भने इटालीमा २३ तथा स्पेनमा २० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।


