काठमाडौं,८ बैशाख । महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोबिड–१९) बाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीमध्ये ३० जनाले ज्यान गुमाएका छन्। तर नेपालमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।
गैरआवासीय नेपाली संघले तयार पारेको शनिबार बेलुकीसम्मको तथ्यांकअनुसार विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या २८ पुगेको छ। संघले बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्यान्डमा एकजनाको ज्यान गएको जनाएको छ। यसबाहेक आइतबार बेलुकीसम्म अमेरिकाको न्युयोर्कमा थप दुईजना नेपालीको कोरोनाकै कारण मृत्य भएको पहिचान भएको छ। यसरी कोरोनाबाट मृत्यु हुने नेपालीको कुल संख्या ३० पुगेको छ।
हाल अमेरिकामा बस्ने सञ्चारकर्मी मधुकर अधिकारीले अमेरिकामा थप दुईजना नेपालीको कोरोनाका कारण ज्यान गएको जानकारी दिए। आइतबार टेलिफोनमा अधिकारीले अमेरिकामा अहिलेसम्म १० जना नेपालीको ज्यान गएको बताए। उनका अनुसार न्युयोर्कको एल्मरुट अस्पतालले ७२ वर्षीय इन्द्रबहादुर राईको मृत्यु भएको जानकारी दिएपछि मृतकको संख्या १० पुगेको हो। त्यसबाहेक अमेरिकामा मृत्यु हुने नेपालीमा महेश अमात्य, पवन मल्ल, सोनाम लामा, अनिल लिम्बु, अजेय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा र थोक्मे बिष्ट रहेका छन्। अधिकारीले शुक्रबार मृत्यु भएका अर्का एक नेपालीको नाम भने उनीहरुका परिवारले स्वीकृति नदिएका कारण सार्वजनिक नगरिएको बताए।

विदेशमा बस्ने नेपालीको हकहित र सुरक्षा गर्ने उद्देश्यले संघ स्थापना गरिएको हो। संघले पछिल्लो समय कोरोनाका कारण समस्यामा परेका गैरआवासीय नेपालीको तथ्यांक लिन र सक्दो सहयोग गर्न सुरु गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरीय समिति गठन गरिएको छ। यसअन्तर्गतको स्वास्थ्य समितिले कोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम संकलन गरिरहेको छ।
संघले अहिलेसम्म कोरोना भाइरसबाट विभिन्न २० मुुलुकमा रहेका एक हजार एक सय ३५ जना नेपाली संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ। संघका अनुसार कोरोनाबाट सबैभन्दा बढी संक्रमित सात सयजना अमेरिकामा र सबैभन्दा बढी १७ जनाको बेलायतमा ज्यान गएको छ।
यस्तै बेलायतमा दुई सय, युएईमा ७१, आयरल्यान्डमा २२, बहराइनमा ४९, स्पेनमा १०, पोर्चुुगलमा २२, अस्ट्रेलियामा ११ रकुवेतमा २१ जना नेपालीमा कोरोना संक्रमण भएको छ।जर्मनी,बेल्जियम र साउदी अरबमा चारचारजना, मलेसियामा तीनजना, जापान तथा फ्रान्समा एकएकजना नेपाली पनि संक्रमणको चपेटामा परेका छन्।
चीनको वुहानबाट गत डिसेम्बर अन्त्यतिर सुरु भएको कोरोना भाइरसको दोस्रो इपिसेन्टर बनेको युरोपेली मुलुक इटालीमा भने कुनै पनि नेपाली अहिलेसम्म संक्रमित भएका छैनन्। संघका अध्यक्ष पन्तका अनुसार इटालीमा बस्ने नेपाली धेरै भए पनि अहिलेसम्म कोही पनि संक्रमित भएको तथ्यांक आएको छैन।
संघका अनुसार विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूह, संघका शाखा, कूटनीतिक नियोग, स्थानीय संघसंस्थाले दिएको सूचनाका आधारमा तथ्यांक तयार पार्ने गरिएको छ।संघले विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारको सहयोगार्थ आफ्ना शाखा परिचालन गरेको जनाएको छ। अध्यक्ष पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजारभन्दा बढी कोरोना पीडितलाई संघले राहत वितरण गरेको छ। संघको आइतबार बस्ने उच्चस्तरीय समितिको बैठकले थप केही निर्णय गर्ने जनाइएको छ।
गैरआवासीय नेपालीमा कोरोना प्रभाव
देश संक्रमित मृत्यु
अमेरिका ७०० १०
बेलायत २०० १७
युएई ७१ २
आयरल्यान्ड २२ १
स्रोत: गैरआवासीय नेपाली संघ
(नागरिक बाट)

