काठमाडौँ, १३ वैशाख । पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि बढाएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि बढाउनु परेको सरकारी अधिकारीहरुले बताएका छन्
केन्द्रिय योजना तथा विकास मन्त्री असद उमराले राष्ट्रिय नियन्त्रण केन्द्रले लकडाउनको समयावधि बढाउने निर्णय गरेको जानकारी दिए। देशव्यापी लकडाउन लागु भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ हजारभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार संक्रमित हुनेहरुको कुल संख्या ११ हजार ६५२ रहेको छ ।

त्यसैगरी देशभरी कोरोना भाइरसका कारण २४२ भन्दा बढीको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।कोरोना भाइरसबाट सवैभन्दा धेरै पञ्जाव प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार ८५१ जना सङ्क्रमित भेटिएका छन् ।
महामारी विरुद्धको कतिपय मापदण्डहरुलाई पाकिस्तानमा कतिपय व्यक्तिहरुले बेवास्ता गरेको पाइएको छ ।
शनिबारदेखि मुस्लिम धर्माबलम्वीहरुको एक महिने रमजान पर्व समेत शुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।

