काँकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नेपालमा प्रतिवन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
समुदाय प्रहरी साझेदारी अवधारण अनुसार सीमा निगरानी समितिको पहलमा सोमबार राति साढे १० बजे १ सय ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर— ७ बस्ने ५८ वर्षीय बच्छी भन्ने बच्चु चौधरीलाई पक्राउ गरिएको समाचार स्रोतले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नवनिर्मित मेची पुल छेउबाट उक्त परिमाणको लागूऔषधसहित चौधरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

उक्त लागूऔषध अहिलेसम्मकै ठूलो परिमाणको भएको प्रहरीको दावी छ । हालसम्म बढीमा ५ ग्रामभन्दा बढीको ब्राउन सुगर पक्राउ नपरेको स्रोतले जनाएको छ । प्रहरीका अनुसार ३ सय मिलिग्राम ब्राउनसुगर कसैले बोकेमा लागूऔषध सम्बन्धि मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
पक्राउ परेका चौधरीलाई झापाकोे मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालय आयावारीको विशेष क्वारेन्टाइनमा र ब्राउन सुगर आवश्यक प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । १४ दिनको क्वारेन्टिनपछी बसाई पश्चात चौधरीको सवै स्वास्थ्य परीक्षण गरी आवश्यक कारवाही अघि बढाइने तयारी प्रहरीले गरेको छ ।
लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवाना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैयाँ जरीवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।

