adv

बाह्रदशीमा ६२ जनाको स्वाब संकलन, पीसीआरका लागि विराटनगर पठाइयो

बिर्तामोड,१६ बैशाख । कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका झापा बाह्रदशी गाउँपालिकाका ६२ जनाको स्वाब नमुना संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले मंगलबार उनीहरुको स्वाब नमुना संकलन गरेको हो ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका बाह्रदशी ४ का ५० वर्षीय पुरुषको परिवार, आफन्त र छिमेकीहरुको स्वाब नमुना संकलन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए । संक्रमित पुरुषको कन्ट्याक्ट ट्रेसिङका आधारमा मंगलबार १२ जना स्वास्थ्यकर्मी चार टोलीमा विभाजन भई उनीहरुको स्वास्थ्य परीक्षण र स्वाब नमुना संकलन गरेको साहले बताए । गाउँपालिकाले उनीहरु सबैको पीसीआर परीक्षण गर्ने निर्णय गरेकाले सिधै स्वाब नमुना लिइएको हो ।

संकलित नमुना मंगलबारै पीसीआरका लागि विराटनगरस्थित कोसी कोभिड अस्पतालमा पठाएको साहले बताए । मंगलबार नै बुद्धशान्ति गाउँपालिकाको एक व्यक्तिको स्वाब पनि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ ।

भारतको दिल्लीमा सम्पन्न मुस्लिम धर्मगुरुहरुको सम्मेलनमा सहभागी भएर फागुन २८ गते घर फर्किएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको कोसी कोभिड अस्पताल विराटनगरमा उपचार भइरहेको छ । संक्रमण पुष्टि भएलगत्तै गाउँपालिकाले बाह्रदशी ४ को पूर्वमा कञ्चनगढ सडक, पश्चिममा विरिङ नदी, उत्तरमा साविक चकचकी गाविसको सिमाना र दक्षिणमा राधानगर घाग्रापुलसम्मको क्षेत्रलाई ‘सिल’गरेको छ । कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु