adv

बजार मूल्यभन्दा बढीमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना

झापा, १८ वैशाख ।झापाको भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले आज रु २५ हजार जरिवाना गरेको छ ।

चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि आज समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताए।

समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु ३६ हजार जरिवाना गरेको थियो ।

सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु