
काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । डा. यादवले नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिएको हो ।
बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।
सदस्य वस्तीले अपहरण हो वा होइन भन्ने विषय प्रहरी र अदालतले हेर्ने भन्दै आफूहरुले उक्त घटनामा मानव अधिकार उल्लंघन भयो कि भएन र त्यसको पुनर्स्थापनाका लागि राज्यले के गर्नुपर्ने भन्ने विषयमा बोल्ने बताए ।

महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गर्दै सम्बन्धित जिल्ला महोत्तरीमा गएर उजुरी दिन सुझाएका थिए ।

