काठमाडौँ,१९ बैशाख । जनता समाजवादी दल दर्ताका लागि राजपा र समाजवादी पार्टीले हस्ताक्षर संकलन थालेका छन्।
वैशाख १० गते नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका राजपा र समाजावादीले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गर्न थालेका हुन्।
आवश्यक कागजात पूरा नगरी आयोगमा आवेदन दिएकाले थप प्रक्रिया पूरा गर्नका दुवै दलले केन्द्रीय सदस्यको हस्ताक्षर संकनल गर्न थालेका हुन्। एकीकरण भएर नयाँ दल बन्नका लागि दल गाभ्न भएको सहमति पत्र, निवेदन, दुवै पार्टीको केन्द्रीय सदस्यको हस्ताक्षर र विधान चाहिने कानुनी व्यवस्था छ।
१० गते एकीकरणका लागि भएको सहमतिपत्र मात्र बुझाएकाले थप कागजात पुर्याउन थालिएको समाजवादी पार्टीका निर्वाचन आयोग प्रमुख डा. शिवजी यादवले जानकारी दिए।
उनले कोेरोना संक्रमणका कारण सबै केन्द्रीय सदस्यलाई एकै ठाउँमा भेला गर्न संभव नहुने भएपछि क्षेत्रगत रुपमा हस्ताक्षर संकलन गर्न थालिएको बताए।

राजपाका नेता राजेन्द्र महतोले पनि दल केन्द्रीय सदस्यको हस्ताक्षर र संयुक्त विधान निर्माण भइरहेको जानकारी दिए। दुवै दलको संयुक्त बैठकका लागि पनि तयारी भइरहेको र लक डाउन खुल्ने वित्तिकै बस्ने महतोले बताए।
राजपाका केन्द्रीय सदस्य सात सय ३६ जना छन् भने समाजवादीमा चार सय ५० जना छन्। निर्वाचन आयोगमा एकीकृत दल दर्ताका लागि निवेदन परेको ४५ दिनभित्र आवश्यक छानबिन गरी नयाँ दल दर्ताको प्रमाणपत्र दिनुपर्ने कानुनी व्यवस्था छ।
सरकारले मेधसी दल विभाजनलाई लक्षित गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरे पनि उसनीहरु एकीकृत भएर नयाँ दल दर्ताका लागि अघि बढेका हुन्। त्यसै अध्यादेशबाट सत्तारुढ नेकपाका सिर्जित आन्तरिक कहलले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संकटमा पारेको छ।

