काठमाडौँ,२३ बैशाख । मदिरा सेवनले रोगसँग लड्ने क्षमतामा कमी आउनुका साथै कोरोना भाइरस संक्रमणको थप जोखिम बढ्ने बताईएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा. विकास देवकोटाले मदिराको अत्याधिक सेवनले दिमागमा नकारात्मक कुराहरु आउने ,अनैतिक घटना हुने,मानशीक समस्या हुने, साथै अन्य रोगबाट पनि प्रभावित हुन सकिने भन्दै यस्तो बताएका हुन् ।
यस अघि मदिरा सेवनले कोरोना भाइरस संक्रमण निको हुने भन्दै धेरै मानिसहरुले मदिरा सेवन गरेको र अत्याधिक सेवनले मृत्यु भएको खबरहरु विभिन्न संचारमाध्यम मा आएका कारण मदिरा सेवन गरेर थप जोखिममा नपर्न,स्वस्थ रहेर अरुलाई पनि स्वस्थ रहन प्रोत्साहन गर्दै सबै मिलेर कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एकजुट हुन पनि उनले आग्रह गरे ।

यस्तै मन्त्रालयले गत चौबीस घन्टामा कोरोना भाइरसको परीक्षण १ हजार ५ सय ८२ पुगेको जानकारी दिएको छ। पिसिआरबाट १३ हजार ८ सय ५० जनाको कुल परीक्षण भएको हो भने र्यापिड टेस्टबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको हो।
यस्तै हाल देशभर आइसोलेसनमा कुल १ सय २० जना रहेको जसमा उपत्यकाभित्र २ जना र उपत्यका बाहिर ११८ जना रहेको उनले जानकारी दिए। क्वारेन्टाइनमा भने २१ हजार ९९ जना रहेका छन्। यस्तै देशभर ३३० जना रेड जोनमा परेका छन्, जसमध्य गत चौबीस घन्टामा २ जना रेड जोनमा परेका हुन्।

