काठमाडौँ , २३ बैशाख । नेपालमा जारी लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने निर्णय गरेको छ। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले यस्ती निर्णय गरेको हो । यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले बुधबार गर्ने छ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय ७ देखि १० दिनका लागि थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको छ। ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,’ बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ।

