काँकरभिट्टा, ३० बैशाख । झापाको ईलाका प्रहरी काँकरभिट्टाले श्रोत नखुलेको आठ लाख बढी रुपैयाँ बरामद गरेको छ ।
नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामकालागि सरकारले गरेको लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन प्रहरी सक्रियपुर्वक लागे लगत्तै सो रकम बरामद गरेको हो ।
विभिन्न समयमा विभिन्न शंकाष्पद व्यक्तिका साथबाट वरामद गरेको रकम कुन प्रयोजनका लागि बोकेको र रकमको श्रोत नखुलेका कारण प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।
भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपाल प्रवेशको पहिलो ढोका काँकरभिट्टामा प्रहरीले लकडाउन लगत्तै चेकजाचलाई कडाई गर्नुका साथै नाकामा उच्च सतर्कता अप्नाएको थियो ।

यसैक्रममा लकडाउनको यो अवधिभरसम्ममा प्रहरीले श्रोत नखुलेको आठ लाख रुपैयाँ ठुला र साना गरी ६० वटा भन्दा बढी विभिन्न सवारी साधन र करीव ८० जना भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।
उनका अनुसार एकै दिन १ लाख २५ हजार श्रोत नखुलेको रकम प्रहरीले फेला पारेको थियो । अधिकाँश रकम लागूऔषधको खरिद विक्रीका लागि मानिसहरुले ल्याएको आशंका प्रहरीले गरेको छ ।
चैत ११ गतेदेखि आजसम्म आइपुग्दा पक्राउ परेका धेरै व्यक्तिहरु मध्ये अधिकाँश लागूऔषध प्रयोगकर्ता रहेको र उनीहरुलाई राख्नका लागि मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर—८ स्थित आदर्श माध्यमिक विद्यालयको सामुदायिक क्वारेन्टिनलाई विशेष क्वारेन्टिनका रुपमा बनाइएका बताए ।
विशेष क्वारेन्टिनमा रहेका मध्ये ६७ जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए।

