काठमाडौं, ३ जेष्ठ । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण नेपालमा १ जनाकाे मृत्यु भएकाे छ । सिन्धुपाल्चाेककी बाह्रबिसे राम्चेकी २९ वर्षीय सुत्केरी महिलाकाे धुलिखेल अस्पतालमा मृत्यु भएकाे हाे।
स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो।
ती महिलालाई बिहीबार श्वासप्रश्वासमा समस्या उत्पन्न भई धुलिखेल अस्पताल ल्याउँदा उनको निधन भएको थियो।
धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो।

