adv

भद्रपुरमा विशेष क्वारेन्टिन सञ्चालन गर्न नियमावली बनाइयो

भद्रपुर ।  झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले विशेष क्वारेन्टिन सञ्चालन गर्न सक्ने गरी नियमावली तयार गरेको छ । आर्थिक रुपमा सक्षम नागरिकले चाहेमा शुल्क तिरेर विशेष क्वारेन्टिनमा बस्न पाउने गरी नगरपालिकाले नियमावली बनाएको हो ।

विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रका होटल, धर्मशाला वा सामुदायिक भवनमा विशेष क्वारेन्टिन बनाउन सक्ने र त्यसका लागि नगरपालिकाले तय गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्नुपर्ने निर्णय गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

भारतलगायत विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या बढ्दै गएपछि सामुदायिक क्वारेन्टिनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको सन्दर्भमा आर्थिक रुपमा सक्षम र अलग्गै क्वारेन्टिनमा बस्न चाहने नागरिकका लागि विशेष क्वारेन्टिनको व्यवस्था गर्न लागिएको नगरप्रमुख श्रेष्ठ बताए ।

विशेष क्वारेन्टिनमा बस्ता वा राख्दा सरकारको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड र नगर स्वास्थ्य शाखाले दिएको निर्देशन पूर्ण पालना गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

यसैगरी, विशेष क्वारेन्टिनमा पर्याप्त उज्यालो र स्वच्छ हावा आउने भेन्टिलेसनसहितको वातानुकुलित शयनकक्ष, एट्याच बाथरुम, कम्पाण्डवाल र सुरक्षा गार्डको सेवा भएको हुनुपर्ने, स्वस्थकर खाना खाजा, स्वच्छ तातो र चिसो पानीको उचित प्रबन्ध भएको हुनुपर्ने, क्वारेन्टिनमा बस्ने व्यक्तिबाहेकका अन्य सेवाग्राहीले प्रवेश नपाउने, प्रत्येकलाई एक एक थान डिजिटल थर्मोमिटर उपलब्ध हुनुपर्ने, चार चार घण्टामा ज्वरो नापी अभिलेख राख्नुपर्ने र सोको विवरण तोकिएको स्वास्थ्यकर्मीलाई उपलब्ध गराउनुपर्ने, मादक पदार्थ, सूर्तीजन्य पदार्थ वा अन्य उत्तेजना बढाउने वा निषेधित खानेकुरा खान खुवाउन र राख्न नपाइने, महिला तथा पुरुषको कोठा अलग अलग हुनुपर्ने, एकासंगोलको परिवारको हकमा भने सामाजिक दूरी कायम राख्दै एउटै कोठामा पनि राख्न सकिने नियमावलीमा उल्लेख छ ।

विशेष क्वारेन्टिनमा बस्नेले कम्तीमा १४ दिन पूरा गर्नुपर्नेछ । त्यस्तै, बिशेष क्वारेन्टिनमा आउनुअघि नगर प्रहरी र नगर स्वास्थ्य शाखामा बिस्तृत बिबरण उपलब्ध गराउनुपर्नेछ भने त्रिपक्षीय सम्झौता गरेर मात्र विशेष क्वारेन्टिनको सेवा लिन दिन सकिने लगायतका दुईदर्जन बढी बुँदा नियमावलीमा समेटिएको छ ।

भद्रपुरमा दुई स्थानमा सामुदायिक क्वारेन्टिन र मेची क्याम्पसमा होल्डिङ सेन्टर राखिएको छ । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका र लकडाउनकै समयमा नेपाल प्रवेश गरेका नेपालीहरुलाई ती क्वारेन्टिन र होल्डिङ सेन्टरमा राखिएको छ ।

क्वारेन्टिनमा रहेकाहरुलाई कम्तीमा १४ दिन राखेर कोरोना परीक्षण र होल्डिङ सेन्टरमा रहेका मानिसको कोरोना परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकाहरुलाई सम्बन्धित पालिकाहरुसँग समन्वय गरी जिम्मा लगाउने गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु