adv

नवराज विक हत्याकाण्डविरुद्ध जुर्मुराए दलित अभियन्ता

दमक, १६ जेठ । गत जेठ ११ गते साँझ रुकुम पश्चिम चौजहारी ८ मा नवराज विक सहित उनका चार जना साथीहरु मारिएको विरोधमा शुक्रबार झापाको दमकमा दलित सम्बद्ध संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।

नवराज विश्वकर्मा हत्या विरुद्ध संघर्ष समिति दमक, झापा गठन गरेर दलित अगुवाहरु आन्दोलित बनेका हुन् । दुलही लिन जाजरकोटबाट आएका १९ वर्षीय विकसहित उनका साथीहरु सन्जु विक, गणेश बुढा, लोगेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको स्थानीय केटी पक्षको आक्रमणमा परि ज्यान गएको थियो ।

दलित अगुवाहरुले यस घटनालाई कहालीलाह्दो जातीय हिंसा भनेका छन् भने हिन्दु अतिवादी सोच बोकेकाहरुले घटनालाई विषयान्तर गर्न खोजेको समेत आरोप लगाएका छन् । उक्त मृत्यु प्रकरण जघन्य अपराध र कथित उपल्लो जातका मानिसहरुबाट बर्बरतापूर्ण हत्या भएको दलित अगुवाहरुले दावी गरेका छन् ।

संघर्ष समितिको अगुवाईमा शुक्रबार दमक चोकमा र्यालीसहित कोणसभा गरेर दलित अधिकारका अभियन्ताहरु सहितको समूहले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापनपत्र समेत बुझाएको संयोजक काँशी खातीले जानकारी दिए । उनले भने -‘हामीले हाम्रा माग सहितको ज्ञापनपत्र इलाका प्रशासन कार्यालयबाट गृहमन्त्रालयमा पठाएका छौं । हामी निरन्तर खबरदारीमा रहने छौं ।’

दलित सम्बद्ध विभिन्न १७ वटा संघसंस्थाहरुको एकैवद्धा रहेको संघर्ष समितिले ज्ञापनपत्रमार्फत उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्नुको साथै नवराजसहित सबै मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घटना प्रभावित समुदाय र क्षेत्रमा शान्ति सुरक्षा कायम गराउन माग गरेको छ ।

अन्तरजातीय विवाह गरेकै कारण मारिएका अजित मिजारको शव शिक्षण अस्पतालको शव गृहमा रहेको वर्षौंदेखि रहेको भन्दै उनीहरुले मिजारलाई न्याय दिन समेत माग गरेका छन् भने छुवाछुतमुक्त राष्ट घोषणा २०७३ को सम्मान गर्न पनि माग गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु