काठमाडौं ,२३ जेष्ठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
कोरोना पोजेटिभ देखिएका सुर्खेतका एकजना युवाको बुधबार राति मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।
१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो ।
भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।
तर बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पञ्चपुरी नगरपालिका–१का वडाअध्यक्ष धनबहादुर थापाले जानकारी दिए ।