adv
Advertise Expired !

चिहान भत्काएको विषयमा गाउँपालिकाले ज्ञापन-पत्र बुझ्नै मानेन

म्याङ्लुङ, ४ असार । विकासे नाउँमा लिम्बू समुदायको चिहान भत्काइएका घटना पूर्वी पहाडका जिल्लाहरुमा व्यापक बन्दै गर्दा तेह्रथुमको फेदाप गाउँपालिकाले भने सो कार्य रोक्न बुझाइएको ज्ञा पन-पत्र समेत नबुझेको पाइएको छ ।

फेदाप वडा नं १ पोक्लाबाङमा रहेको लिम्बू समुदायको समाधिस्थल भत्काइएको विषयमा बुधवार गाउँपालिकामा ज्ञापन-पत्र बुझाउन जाँदा गाउँपालिकाले ज्ञापन पत्र बुझ्न नमानेको आदिवासी याक्थुङ लिम्बु समाधि स्थल चिहान संरक्षण सङ्घर्ष समितिका संयोजक कपिल निङ्लेकुले जानकारी दिएका हुन् ।

पोक्लाबाङमा अवस्थित परापूर्वकालदेखिको समाधिस्थलमा विकासे नाउँमा डोजर चलाइएपछि त्यहाँ रहेका एक हजार भन्दा बढी चिहान भत्किएको र मानव कंकाल बाहिर निस्किएको थियो ।

चिहानमाथि डोजर चलाउने कार्य रोक्न गठित सङ्घर्ष समितिले बुधबार फेदाप गाउँपालिकाका अध्यक्ष हरि हुक्पा चोङ्बाङलाई ज्ञापन-पत्र बुझाएको तर अध्यक्ष चोङ्बाङले भने लिन नमानेको बताइएको छ । अध्यक्ष चोङ्बाङले गाउँपालिकाले लिम्बू जातिको समाधिस्थल नभत्काएको दावी गर्दै सो कार्य सहरी विकास आयोजनाले गरेको जिकिर गरेका थिए ।

गत जेठ २६ गतेका दिन रातीको समय पारि गाउँपालिकोको बजेटमा याक्थुङ (लिम्बू) हरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहानमा डोजर लगाइएकोमा घटनाप्रति संघर्ष समितिले खेद प्रकट गरेको सहित ज्ञापन-पत्रमा विभिन्न माग राखिएको छ ।

ज्ञापन पत्रको पुर्णपाठ:
मिति २०७७ । ०३ । ०३
गाउँपालिका अध्यक्ष ज्यू
फेदाप गाउँ पालिकाको कार्यालय,
फेदाप तेह्रथुम ।
विषय स् ज्ञापन पत्रका सम्बन्धमा ।

मिति २०७७ । २ । २६ गतेका दिन रातीको समय पारी गाउँ पालिकोको बजेटमा याक्थुङ (लिम्बू) हरूको पोक्लाबाङ स्थित समाधि स्थल चिहान डोजर लगाइएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आदिवासी याक्थुङ लिम्बूहरूको चिहान नै मन्दिर हो । हिन्दु धर्मावलम्बीको मन्दिर भत्काउनु र याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु तात्त्विक भिन्नता नभएको थाहा पाउँदा पाउँदै गाउँ पालिकाको बजेटमा यस्तो कार्य हुनु खेदजनक कार्य भएको जानकारी गराउँदछौ । विकासको नाममा कुनै समुदायको सांस्कृतिक विनाश गर्ने छुट कसैलाई छैन ।

सम्मानित सर्वोच्च अदालतले समेत यस्ता सांस्कृतिक स्थलहरू नभत्काउनु नमास्नु भन्ने फैसला गरिसकेको अवस्थामा र नेपालमा राष्ट्रिय कानुन सरह लागू भएको आईएलओ महासन्धि १६९ मा उल्लेखित आदिवासीहरूको अधिकार जल, जमिन, जङ्गल र जडीबुटी, एवम् संस्कृतिको संरक्षण गर्ने अधिकार रहेको थाहा हुँदा हुँदै हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको चिहान भत्काउनु भनेको निन्दनीय जातीय विभेदयुक्त एवम् एक जाति एक भाषा एक संस्कृति र एक धर्मको वर्चस्व एवम् हालीमुहाली भएको ठहर गरेका छौँ ।

अमेरिकामा काला जाति माथि दिन दहाडै हत्या गर्नु र नेपालमा आदिवासी याक्थुङ –लिम्बू) हरूको चिहान रातारात भत्काइनु दुवै साम्प्रदायिक निन्दनीय कार्य हुनका साथै मानव अधिकार विरुद्धका कार्य हुन् । नेपाल पक्ष राष्ट्र भएको आदिवासीहरूका अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्रको समेत ठाडो बर्खिलाप गर्दै चिहान भत्काउने कार्यले हामी आदिवासी याक्थुङ (लिम्बू) हरूको घोर अपमान भएको छ । यति मात्र होइन कि याक्थुङ मुन्धुम अनुसार याक्थुङ लिम्बूको भौतिक शरीर मरेर गए पनि आत्मा मर्दैन भन्ने हेक्का राख्नु पर्ने हो । यी जीवित आत्मा बस्ने घर नै चिहान भएकोमा यस्ता जीवित आत्मा माथि डोजर चल्नु आपत्तिजनक कार्य हो । यो मानव आत्मा माथिको नरसंहार हो । सांस्कृतिक रूपमा राज्यले गरेको हस्तक्षेप हो भन्ने बुझेका छौँ ।

यसर्थ यस्ता कार्य जो कोहीले गरेता पनि क्षम्य हुन सक्दैनन् । अर्को त नेपालको मौजुदा कानुनले समेत चिहान भत्काउने अधिकार कसैलाई छैन । यस्तो अवस्थामा भएको कानुनी अज्ञानता कुनै हालतले क्षम्य हुँदैन । यसका लागि मिति २०७७ । ०३ । १ भएको भेलाको निर्णय अनुसार तपसिल बमोजिमको मागहरू राखी ज्ञापन पत्र दिने भन्ने निर्णय भएकाले तपसिल बमोजिमको मागहरू राखी यो ज्ञापन पत्र दिएका छौँ । उक्त ज्ञापन पत्रलाई बेवास्ता गरेमा सङ्घर्ष सििमत चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने जानकारी समेत गराउँदछौ ।

हाम्रा मागहरू :

१, आदिवासी याक्थुङ (लिम्बू) सांस्कृतिक स्थल चिहान सहरी विकास कार्यालयको लगानी र गाउँपालिकाको समन्वयमा भत्काइएकोले गाउँ पालिका सरकारद्वारा आदिवासी याक्थुङ (लिम्बू) समुदायसँग लिखित माफी मागियोस् ।

२,भत्किएका चिहानलाई अविलम्ब १५ दिनभित्र जस्ताको तस्तै पुरुष भए ४ तला र महिला भए ३ तला डुङ्गाको चिहान एवम् कपुर थान भए कपुरथानको रूपमा जस्ताको तस्तै निर्माण गरियोस् ।

३,आदिवासी याक्थुङ (लिम्बू) हरूको मुन्धुम र विस्थापन अनुसार व्यक्तिको आत्मा नमर्ने भएकाले जीवित आत्मामाथि राज्यको डोजर लगाइएकाले डोजर लगाइएका चिहान पहिचान गरी सहिद घोषणा गरियोस् ।

४,सहिद घोषणा गरिएका आत्मासँग सम्बन्धित चिहान पहिचान गरी उनीहरूको सन्ततिलाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् ।

५.आगामी दिनमा आदिवासी याक्थुङ लिम्बूको चिहान नभत्काइने लिखित प्रतिबद्धता गाउँपालिका सरकारबाट व्यक्त गरियोस् ।

६,आईएलओ महासन्धि १६९ र आदिवासीहरूको अधिकारकालागि संयुक्त राष्ट्र सङ्घीय बडापत्र कार्यान्वयनको लागि लिखित प्रतिबद्धता जाहेर गरियोस् । बोधार्थ : १. प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय तेह्रथुम ।

संयोजक (कपिल निङ्लेकु)

आदिवासी याक्थुङ (लिम्बू) समाधि स्थल चिहान संरक्षण सङ्घर्ष समिति

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु