झापा, ५ असार । अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले सो रकम एकका लागि एक अभियानलाई उपलब्ध गराउने निर्णय भएको हो । झापामा नागरिकस्तरबाट कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि अभियानले रकम संकलन सुरु गरेको थियो ।
अभियानको विशेष आग्रह तथा समाजले चासो देखाएपछि विश्वभर रहेका झापालीमाझ रकम संकलन गरिएको थियो । समाजले ४० वटा देशमा रहेका भगिनी समाजसँग संस्थागत सहयोग संकलन गरेको थियो । समाजका प्रवक्ता बालहरि राईले विज्ञप्ति निकालेर अभियानलाई रकम प्रदान गर्ने जनाएका छन् ।
समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षता तथा संरक्षक दिनेश पोखरेलको विशेष उपस्थितिमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्षहरु दिपक ओली, नविन पोखरेल, दिपक चुडाल, महासचिव खेमराज जमरकट्टेल, कोषाध्यक्ष चूडामणि कार्की लगायत कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।
प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । प्रदेश १ मा संकलन भइरहेको र्याल संख्या (भिटिएम) को तुलनामा ल्याबको अभाव छ । समाजले कोरोनाको उच्च जोखिममा सीमावर्ती जिल्ला झापा रहेकाले पिसिआर ल्याब जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सुरु गरेको अनलाइन रकम संलकन अभियानबाट हालसम्म ६ हजार ६४७ अस्टे«लियन डलर प्राप्त भइसकेको छ । आठ दिनअघि सुरु गरिएको गोफन्डमी अभियानमा ४७ जनाले व्यक्तिगत सहयोग गरिसकेका छन् ।
समाजले यसअघि कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट ट्युब प्रदान गरेको थियो । एकका लागि एक अभियानको टोलीसँग झापाका १५ वटै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई एक सयका दरले पिसिआर टेस्ट ट्युब प्रदान गरिएको थियो ।
विश्वभर छरिएर रहेका झापालीहरुको छाता संगठन समाजले कमल गाउँपालिकाका बाढीपीडित ९ परिवारको घर बनाइदिएको थियो भने समाजले प्रदान गरेको तीनवटा एम्बुलेन्स झापामा सञ्चालनमा छन् ।