काठमाडौं,२८ असार। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।
महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। यसअघि बच्चन परिवारका अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो।
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य स्थिर भए पनि श्वासप्रश्वासमा सामान्य समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हिन्दुस्तान टाइम्सले लेखेको छ ‘अमिताभको अवस्था स्थिर भए पनि श्वासप्रश्वासमा थोरै समस्या देखिएको छ,’।
अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।
आइतबार नानावती अस्पताल र महाराष्ट्र सरकारका स्वास्थ्य अधिकारीले दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।
समाचारमा भनिएको छ- ‘महाराष्ट्र सरकार र अस्पतालले अमिताभ र अभिषेक दुवैको अवस्था स्थिर रहेको जानकारी दिएका छन्। तर ७७ वर्षीय अमिताभको उमेर र पहिलेका स्वास्थ्य समस्याका कारण उनलाई गाह्रो हुने सम्भावना रहेको अस्पतालले जनाएको छ।’
अमिताभकी धर्म पत्नी जया बच्चन उनकी छोरी स्वेताको कोरोना रिपोर्ट भने नेगेटिभ आएको तोपेले जानकारी दिएका छन्।