काठमाडौँ ,३ श्रावण । देशभर मौसम बदली भई धेरै स्थानमा पानी परेको छ । मनसुनी वायु को प्रभावका कारण बदली तथा वर्षा भएको हो ।
जल तथा मौसमपूर्वानुमान महाशाखाका अनुसार मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेको छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।
यस्तै ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, नवलपरासी, तनहुँ, गोरखा, कास्की, दाङ, कैलानी, कञ्चनपुर, डोटीसहितका जिल्लामा मध्यमदेखि भारी वर्षा भएको छ । लगातार पानी परेका कारण काठमाडौँ उपत्यकाका विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खुसहितका खोलामा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ती क्षेत्रका साना नदीमा आकश्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।