काठमाडौँ,६ श्रावण । यातायात व्यवसायीहरुले साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेका छन्।
मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरका तीनवटा ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ अर्थात् बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन् ।
सरकारले छोटो दुरीका सवारी साधनमात्र चलाउने निर्णय गरे पनि यातायात व्यवसायीले लामो दूरीका सवारी साधन पनि चलाउने निर्णय गरेका हुन्। यद्यपि सरकारले अहिलेसम्म लामो दूरीमा बारे कुनै निर्णय गरिसकेको छैन।