काठमाडौं,१२ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा-एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बोर्डका अनुसार एक साताभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ।
कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विधालयलाई नै दिइएको छ। बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले देशभरबाट सम्पुर्ण विवरण आइसकेको बताए।
उनका अनुसार प्राप्त भएको हार्डकपी र सफ्ट कपी रुजुको काम भइरहेको छ।
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए। कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो।
सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो।

